सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा धनगढी–बझाङ हवाई भाडादरको चर्चा

बझाङ । धनगढी–बझाङ हवाइको भाडादरका विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । असोज १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले विमानस्थलको उद्घाटन गरेका थिए ।

काठमाडौंदेखि धनगढी करिब ४५ देखि ५५ मिनेट लाग्छ र कम पैसा लाग्ने र बझाङदेखि धनगढी पुग्न जम्मा २५ मिनेट लाग्ने हवाइ मार्गको हवाइको भाडादर बढी भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

बझाङ्गी जनताका दुख बुझ्न, विरामीहरुले सजिलै, सहजयात्रा र छिटोछरितो यात्रा गर्न पाउन भनेर विमानस्थल उद्घाटन तथा हवाई सञ्चालनमा आए पनि दुखी, विरामी, गरिव जनताका लागि नभई हुनेखानेका लागि मात्रै सञ्चालनमा ल्याएको भन्दै सामाजिक सञ्जालमा सरकारलाई ब्यङ्ग्य गरिएको छ ।

ऋण खोजेर विरामीको उपचार गराउन शहर लिन्छौं त्यहि पैसाको ५ हजार ४८ रुपैयाँको यात्रामात्रै गरेपछि विरामीको उपचार कसरी गर्ने भन्दै स्थानीयहरुले गरिबलाई मर्का नपर्ने गरी भाडादर निर्धारण गर्न सामाजिक सञ्जालमार्फत सरकारलाइ आग्रह गरेका छन् ।

धनगढी–बझाङ हवाई भाडादर पाँच हजार रुपैयाँ आएको भन्दै आक्रोशित बनेका स्थानीयहरुले सामाजिक सञ्जालमार्फत सरकार तथा वायुसेवा कम्पनीको आलोचना गरिरहेका छन् । बझाङ्गबासीहरुले गरिब जनताको पिरमर्कालाई ध्यानमा राखेर भाडादर निर्धारण गर्नुपर्ने बताएका छन् ।

कतिपय स्थानीयले भने बझाङ्ग जिल्लाका १० वटा गाउँपालिका र २ ओटा नगरपालिका मिलेर जहाजै खरीद गर्नुपर्ने बताएका छन् । साथै बझाङबाट संविधान सभा सदस्य एलबी रावलले भने हवाइ भाडादरको विषयमा आफूहरु गम्भीर रहेको र यसका बारेमा सम्वद्धहरुसँग छलफल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १६:१४