सूचनाको शक्ति - The Power Of Information

        

टुबोर्ग, काल्सबर्ग र सानमिगल बियरको गुणस्तर न्यून

काठमाडौं । गोर्खा ब्रुअरीले उत्पादन गर्दै आएको चर्चित बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल सबैभन्दा कमसल रहेको पाइएको छ । गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै आन्तरिक राजस्व विभागले १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने मदिरासरह नै कर लगाउने निर्णय गरेको छ ।

यसअघि आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ ।

विभागको ‘अन्य’ संकेतलाई न्यून गुणस्तरको मानिदै आएको छ । उक्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय नवलपुरलाई पत्र लेखेर टुबोर्ग, काल्सबर्ग र सानमिगल बियरलाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको हो ।

विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा धेरै हुनुपर्ने व्यवस्था अन्तःशुल्क ऐनमा छ । त्यसैअनुसार अन्तःशुल्कको दर निर्धारण गरिएको छ । भन्सार विभागले कम्पनीको उत्पादनमा ५० प्रतिशत जौ नरहेको भन्दै अन्य वर्गमा वर्गीकरण गर्न सिफारिस गरेको हो । जसअनुसार कार्यालयले गोर्खा ब्रुअरीका उत्पादनमा प्रतिलिटर ४३० रूपैयाँ अन्तःशुल्क लगाएको छ ।

जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्तःशुल्क प्रतिलिटर १६५ रूपैयाँ मात्रै लाग्ने गरेको छ । कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेर गत आइतबारबाट उत्पादन पुनः सुचारु गरेको बताइएको छ । हाल कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । यद्यपि, कम्पनीका उत्पादन हाल बजारमा भने पठाइएको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १५:००