सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारी हत्याकाण्ड

नवराज विककी ‘प्रेमिका’लाई थुनामुक्त गर्न अदालतको आदेश

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा मारिएका नवराज विककी प्रेमिका भनिएकी युवतीलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदातलले जिल्ला अदालतको आदेश उल्टाएको हो ।

ती युवतीसहित करिब तीन दर्जन स्थानीयविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र छुवाछुतलगायत कसुरमा मुद्दा दर्ता भएको थियो । रुकुम जिल्ला अदालतले प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बालबालिका ऐनअनुसार मुद्दा पुर्पक्षका लागि सुधार गृह पठाउने आदेश गरेको थियो ।

जाजरकोटबाट प्रेमिका लिन १९ जना युवासहित चौरजहारी पुगेका नवराजसहितलाई स्थानीयले लखेटेका थिए । घटना भएकै दिन नवराजको शव खोलामा भेटिएको थियो । त्यसको केही दिनमा थप पाँच जना युवाको शव भेटिएको थियो । नवराजकी प्रेमिका भनिएकी युवतीका परिवारको योजनामा घटना भएको प्रहरीको निष्कर्ष थियो ।

उच्च अदालतले घटनास्थलमा ती युवती नभएको र आमाले भनेपछि मात्र घटनाबारे थाहा पाएकाले जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको जनाएको छ । अदालतले खोजेका बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो । यस घटनामा दुई दर्जन आरोपी मुद्दा पुर्पक्षका लागि कारागारमा छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०७:५१