सूचनाको शक्ति - The Power Of Information

        

विराट कोहली कप्तानीको बैंग्लोरले दर्ता गर्‍यो कोलकातामाथि फराकिलो जित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

विराट कोहली कप्तानीको बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । बैंग्लोरले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो ।

शारजहामा भएको खेलमा शुभम गिलले ३४ तथा आन्द्र रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक कोलकाताका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैंग्लोरले क्रिस मोरिस र वासिङ्गटन सुन्दरले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि एबी डी भिल्लियर्सले ३३ बलमा नटआउट ७३ रनको योगदान दिए ।

यस्तै कप्तान विराट कोहलीले २८ बलमा नटआउट ३३, देवदत्त पादिक्कालले २३ बलमा ३२ र आरोन फिन्चले ३७ बलमा ४७ रन बनाए । जितपछि सात खेलबाट १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ ।

पहिलो र दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको पनि समान १० अंक नै छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०७:२५