सूचनाको शक्ति - The Power Of Information

        

नक्कली सुकुम्वासी खडा गरी ठगी गर्ने आठ पक्राउ

कास्की । पोखरामा नक्कली सुकुम्वासी खडा गरी ठगी गर्ने ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ स्थित भोटे चौतारामा रहेको ३०० रोपनी जग्गा १६० जनालाई मिलाइदिने भन्दै पैसा असुलेको पाइएको छ ।

पक्राउ पर्नेमा ३९ बर्षिय हिराबहादुर तामाङ, ३० बर्षिय रमेशकुमार परियार, ३५ बर्षिय ओमबहादुर सुनार, ३७ बर्षिया रिता विश्वकर्मा, २२ बर्षिया सोनु परियार, २७ बर्षिय सीता सुनार, ५० बर्षिय हर्कबहादुर विश्वकर्मा, २४ बर्षिय मौसम सदासंकर रहेका छन् ।

प्रदेश कार्यसमिति गठन गरी विभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति २५ हजारका दरले उठाउने तयारी गरेको र असोज २५ गते २३ जनासँग जनही ७ हजार उठाइसकेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए ।

पोखरा ५ बस्ने हिराबहादुर तामाङको संयोजकत्वमा १० जनाका प्रदेश कमिटी गठन गरी भूमी सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको नक्कली हस्ताक्षर प्रयोग गरेको प्रहरीले फेला पारेको छ । रकम असुल्ने काम भइरहेको आयोगलाई सूचना पुगेको थियो ।

आयोगमार्फत जिल्ला प्रशासन कार्यालय कास्कीमा सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको कास्की प्रहरीले आइतबार ठगीका नाइके हिराबहादुर तामाङलाई पक्राउ गरी उनकै बयानका आधारमा संलग्न अरु पनि पक्राउ पर्न सफल परेका हुन् । हिराबहादुर यसअघि ज्यान मार्ने उद्योगमा चार बर्ष कास्की कारागारबाट कैद भुक्तान गरी निस्किएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेबाट प्रहरीले नगद उठाइएको रजिस्टर एक थान, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी १९ थान तथा नगद एक लाख ६१ हजार रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ बमोजिम मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १७:२३