जुम्ला । जुम्लाबाट डोल्पा जोड्न सडक खण्डको दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिकरुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्षायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकोले यातायातका साथ सञ्चालनमा कठिनाइ थियो ।
दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजैरुपमा डोल्पाको काइगाउँसम्म सवारीसाधन निर्वाध रुपमा चलेको ट्याक्टर चालक जयकृष्ण थापाले बताए । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्षरुपमा जोडिएको हो ।
यसअघि डोल्पा जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्याक्टर र ट्रकबाट पनि उपभोग्य सामाग्री डोल्पा पुर्याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताए । २०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो ।
देश संघीयताको मोडलमा गएपछि यो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो । अहिले सहजैरुपमा सवारीसाधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताए ।
‘पहिले ६२ लम्बाइ हुने गरि पुलको स्टीमेट भएको थियो । पछिल्लो स्टमेटमा १५ मिटर थप्नुपर्ने भयो,’ प्रमुख रावलले भने, ‘प्राविधिक कारणले गर्दा पुल समयमै बन्न सकेन् । तर ढिलो निर्माण भएपछि निकै गुणस्तरको पुल बनेको छ । अब स्थानीयले उपभोग्य सामान बोकेर लिनुपरेन ।’
कार्यालयले निर्माणको समय थपेर रु १ करोड १४ लाख रुपैयाँ थपेको थियो । यो पुल जिल्लाकै ठुलो पुल रहेको बताए । तत्कालिन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरी डिजाइन गर्नुपर्ने भएकोले ढिलो निर्माण भएको हो । निर्माणका क्रममा दुई जना निर्माण व्यवसायी फेरिए ।
जिल्ला विकास समितिले गरेको स्टमेट अनुसार ६२ मिटरको पुल दुई करोड ८८ लाख ३० हजार ८०३ रुपैयाँ ३८ पैसामा निर्माण सम्झौता भएको थियो । एसबीएआई बन्दन भगवति जेभी कुपोण्डोल ललितपुरले निर्माणको जिम्मेवारी लिएको थियो । २०७३ साल असार २४ गते १५ मिटरको पुल फेरी १ करोड ५१ लख ४१ हजार ८७४ रुपैया ९४ पैसा रकम सम्झौता भएको थियो ।
कार्यालय प्रमुख रावलले पुल निर्माण भएपछि डोल्पा र जाजरकोट आउजाउ गर्न सजिलो भएको बताए । डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसावले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताए । जिल्लाको पर्यटकीय क्षेत्र गुठीचौर, चोत्रा होमस्टे हुँदै डोल्पाको दुनै र से–फोक्सुण्डो यात्राको लागि पनि सहज हुने भएको छ ।
विजय रावत ।