सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ट्राफिक प्रहरीको ‘एक दिन एक अभियान’

बाँके । बाँकेमा ट्राफिक प्रहरीले ‘एक दिन एक अभियान’ सञ्चालन गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक राजु भण्डारीले परिणाममुखी गतिविधि सञ्चालन गर्ने उद्देश्य अनुरुप एक दिन एक अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘कुनै एक दिनमा कुनै एक अभियानमा मात्र केन्द्रित रहँदा परिणाम ल्याउन सकिन्छ भन्ने लागेर यो अभियान सञ्चालन गर्दैछौं,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘उदाहरणका लागि मापसे चेक गर्ने दिन हामी जिल्लाभर एकै समयमा हाम्रा १३ वटै युनिट खटिएर एक साथ चेकजाँच गर्छौैं ।’

उनले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने बताए । सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको भन्दै भण्डारीले बाहिरी जिल्लामा छुट्ने सवारी साधनलाई अब बसपार्कबाट मात्र छुट्ने दिइने बताए । पुष्पलाल चोकबाट प्रवेश गरी बाइबास हुँदै कारकाँदो चोकबाट मात्र निस्कने दिइने उनले बताए ।

नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसँग सल्लाह र समन्वय गरी अघि बढ्ने बताए । ‘एकदमै चेन्ज ल्याउन त नसकिएला, तर केही न केही परिवर्तन देखिने गरी काम गर्छु,’ भण्डारीले भने ।

परिचयात्मक कार्यक्रममा नेपालगन्ज ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी नायब निरीक्षक सिद्दीगणेश शाह, नेपालगन्ज बसपार्क ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक भरत पौडेल, ट्राफिक प्रहरी हवल्दार तप्त थापा लगायत अन्य ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १५:४८