सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट बाँकेमा ३८ को मृत्यु, रेमडिसिभिरले पनि बचाउनै मुस्किल

बाँके । बाँकेमा कोरोना संक्रमणबाट हालसम्म ३८ जनाको मृत्यु भएको छ । जसमा बाँकेका २६ जना र बाहिरी जिल्लाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षदेखि ८२ वर्ष उमेरका छन् ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु भएका अधिकांशलाई कोरोना संक्रमणपछि निमोनिया भएको अस्पतालले जनाउँदै आएको छ ।

कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका बिरामीलाई रेमडिसिभिर र प्लाज्मासमेत दिइँदै आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउँदै आएका छन् ।

कोरोना संक्रमित बिरामीलाई रेमडिसिभिर औषधि प्रयोग गर्ने सरकारबाट अनुमति पाएपछि जटिल समस्या देखिएका बिरामीलाई उक्त औषधि दिन थालिएको अस्पतालका कोभिड–१९ वार्ड व्यवस्थापक वरिष्ठ सर्जन डा.श्यामसुन्दर यादवले बताए ।

मृत्यु भएकामध्ये अधिकांश बिरामीलाई रेमडिसिभिर औषधि दिइएको उनले बताए । उनले हरेक दिन कोरोनाबाट मृत्यु भएकाबारे दैनिक रिपोर्टमार्फत जानकारी गराउँदै आएका छन् ।

जारी रिपोर्टमा रेमडिसिभिर औषधि दिँदासमेत बिरामीलाई जोगाउन नसकिएको उल्लेख हुने गरेको छ । ‘बिरामीलाई रेमडिसिभिर औषधि दिँदासमेत बचाउन सकिएन,’ श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १४:१४