सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँबाट आईपीएलमा सट्टेबाजी गर्ने ६ जना पक्राउ

काठमाडौँ । राजधानीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका कुलदीप शारण, भारतकै सञ्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भारत उत्तर प्रदेशको कानपुरका अजय गौतम, कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशल रहेका छन् ।

आईपीएलको सट्टेबाजी खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा कुलदीप शारणसहित ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

एसपी राठौरका अनुसार कुलदिप कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ परेका हुन् । उनको साथबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

त्यस्तै भारत घर भएका सञ्जीव शारणको साथबाट ११ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका ६ जनाको साथबाट जम्मा १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:०७