सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरको नोबेल अस्पतालमा बराहक्षेत्रका संक्रमितको मृत्यु

विराटनगर  । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

अस्पताल प्रशासनका अनुसार सोमबार बिहान करिब ७ बजे तिर सुनसरी बराहक्षेत्र नगरपालिकाका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र–५ का पुरुषको शनिबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।

विगत केही वर्षदेखि दुवै मृगौलाको नियमित डाइलासिस गराउँदै आएका पुरुषलाई धरानबाट थप उपचारका लागि आइतबार राति १२ बजे नोबेलको कोभिड आइसोलेसनमा भर्ना गरि उपचार हुँदै आएको उनले बताए।

यससँगै हालसम्म नोबेलको कोभिड आइसोलेसनमा उपचाररत ९ जना संक्रमितको मृत्यु भइसकेको दाहालले जानकारी दिए।

नोबेलमा ४४ जना संक्रमित उपचाररत रहेकोमा थप ९ जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थाकालाई आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको उनको भनाइ छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १ सय ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०९:३०