सूचनाको शक्ति - The Power Of Information

        

मौसम : देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ  ।  देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे पनि अरु क्षेत्रको मौसम भने सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । सो निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदल विभूती पोख्रेलले जानकारी दिएकी छन् ।

उनका अनुसार मनसुनी गतिविधि त्यति सक्रिय नरहे पनि नेपालबाट मनसुन बाहिरिसकेको भने छैन । सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ ।

अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०८:०१