सूचनाको शक्ति - The Power Of Information

        

आइपीएलः मुम्बईको पाँचौ जित, दिल्ली ५ विकेटले पराजित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । दुवै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो ।

दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसैबीच आज साँझ रोयल च्यालेन्जर बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदै छ ।

जारी प्रतियोगिताको यो २८ औं खेल हो । एजेन्सी

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०७:५२