बाँके । प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगन्ज उपमहानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । नगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा आइतबार राजनीतिक दलकाका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ ।
सो छलफलबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सह–प्राध्यापक रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उपमहानगरपालिका आफैले सञ्चालन गर्ने बताए ।
‘अहिले पनि नेपालगन्जमा ठुलो संख्यामा छात्राहरु उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था छ,’ नगर प्रमुख राणाले भने, ‘मुस्लिम, मधेसी लगायत सबै समुदायका छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने यसको मुख्य उद्धेश्य हो । शिक्षामा कुनै पनि कम्प्रोमाइज नहुने भन्दै उनले यसलाई मुलुककै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिने बताए ।
प्रदेशसभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले नेपालगन्जमा स्थापना गर्न लागिएको छात्रा कलेज मुलुककै लागि उदाहरणी बनाउन सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिए । धम्बोझी माविको सफलताबाट पनि नेपालगन्जमा सरकारी स्तरमा राम्रो कलेज सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण भएको उनको भनाई छ ।
नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले छात्राहरुलाई उच्च शिक्षाका लागि सहज पार्ने उद्धेश्यले कलेज स्थापना गर्न लागिएको भन्दै यसलाई विशेष महत्व दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्य, डा.जनार्दन आचार्य लगायतले छात्रा कलेज सञ्चालन र ब्यवस्थापनका लागि सुझाव दिए ।
सत्यपाटी ।