सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा कुखुराको मासु तीन वर्षयताकै सस्तो

काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् ।

एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने । यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए ।

साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए ।

खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् ।

चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको उनले बताए ।

‘मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस, होटल जस्ता कोभिड-१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भयो,’ घिमिरेले भने ।

लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको उनको दाबी छ । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेको घिमिरेले बताए ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार १७:२३