सूचनाको शक्ति - The Power Of Information

        

विकास

अघि बढ्यो नेपालगन्ज विमानस्थल विस्तारको काम

बाँके । नेपालगन्ज विमानस्थल विस्तारको काम अगाडि बढेको छ । हाल सो विमानस्थलको रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रिया शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा गत ६ महिनामा विमानस्थल विस्तारको काम योजना अनुसार अगाडि बढाउन नसकिएको जनाउँदै हाल आएर सो योजनालार्ई पुनः अगाडि बढाइएको बताए ।

उनले बन्दाबन्दीमै जहाज पार्किङ्गस्थल निर्माण कार्य पूरा भएको जनाउँदै रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रियालाई अगाडि बढाइएको बताए । विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० बर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ ।

नागरिक उड्डयन कार्यालयका प्रमुख ठाकुरले पहिलो र दोस्रो चरणका काम अहिले भइरहेको जनाउँदै विमानस्थलमा रनवे बिस्तार, टर्मिनल भवन निर्माण र जग्गा अधिग्रहणको काम गरिने बताए । पहिलो र दोस्रो चरणमा तीन अर्ब ५० करोडभन्दा बढी बजेट खर्च गरिने योजना रहेको उनले जनाए ।

रनवे विस्तार र टर्मिनल भवन निर्माणको टेण्डर केही दिनमै आह्वान गरिने जनाउँदै प्रमुख ठाकुरले जग्गा खरिदको फाइल पनि मन्त्रालयमा पठाइएकोमा सो पास भएर आउने वित्तिकै जग्गा खरिद गर्ने कार्य शुरु गरिने बताए । विमानस्थल विस्तारका लागि हाल रनवे भएको क्षेत्रको उत्तर, दक्षिण र पश्चिमतिरको जग्गा खरिद गरिने योजना छ ।

विमानस्थल गुरुयोजना अनुसार, नेपालगन्ज विमानस्थलको रनवे ३ सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइनेछ । विमानस्थल विस्तारका लागि १०० बिघा जग्गा थप खरिद गरिनेछ । हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप १०० बिघा जग्गा खरिद गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

नेपालगन्ज–दिल्ली उडान माग

यसैबीच बाँकेका उद्योगी व्यवसायी लगायत अन्यले पनि छिटोभन्दा छिटो विमानस्थल विस्तारको काम पूरा गरेर नेपालगन्ज–दिल्ली हवाई उडान शुरु गर्न माग गरेका छन् । नेपालगन्ज लगायत पचिम नेपालकै पर्यटन र आर्थिक विकासका लागि नेपालगन्ज–दिल्ली हवाई उडान कोशेढुंगा साबित हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनले नेपालगन्ज–दिल्ली उडानको माग यस क्षेत्रका व्यवसायीले लामो समयदेखि गर्दै आएको जनाउँदै सो बारेमा नेपाल र भारत सरकार दुबै सकारात्मक रहेकोले छिटो गर्न दवाव दिंदै आएको बताए । नेपालगन्ज–दिल्ली हवाई उडानले नेपालगन्जको मात्र नभई पश्चिम नेपालकै पर्यटन र आर्थिक क्षेत्रमा ठूलो टेवा दिने भएकोले आफूहरुले पटकपटक त्यसका लागि माग गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार १६:५५