सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचार

घुससहित हवल्दार पक्राउ परेपछि बाँकेका एसपी पनि छानविनमा

बाँके । बाँकेमा कार्यरत नेपाल प्रहरीका हवल्दार १३ हजार रुपैयाँ घुससहित पक्राउ परेपछि बाँकेका प्रहरी प्रमूख विवादमा तानिएका छन् । पक्राउपछि बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाकै निर्देशनमा हवल्दारले घुस लिएको सार्वजनीक भएको छ । एसपीकै निर्देशनमा हवल्दारले घुस लिएको सूचना अख्तियारसँग रहेको जनाइएको छ ।

बाँकेको ईलाका प्रहरी कार्यालय खजुराखुर्दमा कार्यरत हवल्दार राजेशबहादुर दुवाल १३ हजार रुपैयाँ घुससहित केही दिनअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेको थियो । उनले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र इट्टा भट्टासम्म लैजानका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको आरोप छ ।

शुक्रबार घुस लिइसकेको अवस्थामा बाँकेको जानकी गाउँपालिका ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । एसपी ओमबहादुर राना गृहमन्त्रीका छोरा लगायतसँग सेटिङ मिलाएर कमाउनकै लागि बाँके सरुवा मागेर आएको प्रहरी वृत्तमा अहिले पनि चर्चा चलिरहेको छ ।

बाँके प्रहरीमा पछिल्लो समय घुसखोरी बढेको उजुरीसमेत प्रहरी प्रधान कार्यालयमा पुगेको छ । विगतमा पनि उनी विभिन्न काण्डमा परेका छन् । उनी यसअघि पनि विवादमा आइरहने प्रहरी अधिकारी हुन् । रानालाई रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा अवधि पुग्नुअघि नै तानिएको थियो ।

त्यस्तै बौद्ध प्रहरी प्रमुख हुँदा पनि तिब्बतीहरूसँग घुस मागेका कारण एसपी राना बदनाम भएका थिए । उनको विषयमा त्यतिबेला गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको थियो । रक्तचन्दन तस्करी गरेको आरोपमा सेनाले अहिर्दमन गण रसुवाका तत्कालीन गणपति कर्णेल रामजी थापालाई कोर्टमार्सल गरी जागिरबाटै बर्खास्त गरेको थियो ।

तर, एसपी रानालाई नेताहरूको दबाबमा कारबाही नै नगरी उन्मुक्ति दिइएको थियो । एसपी रानाले रसुवामा प्रहरी प्रमुख हुँदा सुन तस्करी निर्बाध गराएको पनि आरोप अहिलेसम्म लागिरहेको छ । रसुवा हुनासाथ रानालाई सुन तस्करीको सञ्जाल सञ्चालन गर्ने काँग्रेस नेता मानबहादुर तामाङले कार नै उपहार दिएको पनि प्रहरी स्रोतको दावी छ ।

तामाङ २०७५ सालमा रसुवा हुँदै आएको र क्षेत्रपाटीमा बरामद भएको ८८ केजी सुन प्रकरणमा पक्राउ परेका थिए, जुन सुन अपराध अनुसन्धान महाशाखाले बरामद गरेको थियो । राना महानगरीय आयुक्त कार्यालयमा काम गर्दा पनि जुवा अखडादेखि होटल गेस्टहाउसमा रकम असुलीमा विवादमा परेका थिए ।

विवादास्पद एसपी राना कास्कीको प्रहरी प्रमुख हुँदा पनि त्यहाँका गुण्डा नाइकेहरुसँग हिमचिम बढाएको गलत कामलाई उन्मुक्ति दिएको आरोप छ । त्यसअघि आर्थिक अनियमिततामा मुछिएका रानालाई आइजीपी सर्वेन्द्र खनालले कास्कीमा सरुवा गर्न चाहेका थिएनन् । तर उनले सरुवा नगर्ने अडान पनि लिन सकेनन् ।

तत्कालिन गृहमन्त्रीका आसेपासेका कारण उनी निरीह भएर रानालाई कास्कीमा सरुवा गर्न बाध्य भए । कास्कीमा प्रहरी प्रमुख भएका रमेश खरेल, पुस्कर कार्की, केदार रिजाल, वसन्त लामा र अशोक सिंहले मुद्दा चलाएका एलजी ग्रुपका ललित गुरुङसँग गार्डसमेत नलिई हिँड्ने गरेपछि निकै बदनाम कमाएका थिए ।

एसपी राना गुरुङसँग हिँड्ने, रेष्टुरेन्टमा खानपिन गर्ने र प्रहरीमा परेका विभिन्न मुद्दामा गुरुङलाई डिल गर्न लगाएर आर्थिक फाइदा लिने गरेको आरोप त्यतिबेला पनि लागेको थियो । उनी सरुवा भएपछि २०७५ जेठ २८ मा कास्कीमा हाजिर हुन जाँदा पोखरा विमानस्थलमा गुण्डा नाइके धनबहादुर छन्त्याल ‘लक्ष्मण’ले खादा र मालाले स्वागत गरी स्कर्टिङ गरेपछि विवादमा तानिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार १६:४८