सूचनाको शक्ति - The Power Of Information

        

डा. केसी र सरकारबीच सहमति भएपछि चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं ।  डा. गोविन्द केसीसँग सरकारले सहमति गरेपछि आवसीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

अनशनको २७ औ दिनमा डा. केसी र सरकार पक्षबीच ८ बुँदे सहमतिको प्रशंसा गर्दै उनीहरुले आन्दोलनको कार्यक्रम फिर्ता गरेको विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

त्रि.वि. शिक्षण अस्पतालका नेसनल रेसिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, चि.वि.रा.प्र.का न्याम्सका रेसिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र  सोसाइटी बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले विज्ञप्तिमार्फत आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता भएका सम्पूर्ण कुराहरु कार्यान्वयन भै २० औ अनशन बस्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने आशासहित असोज २४ गते विज्ञप्ति जारी गरी हामी सम्पूर्ण आवासीय चिकित्सकहरुले २५ गते गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार लगाएतका सबै कार्यक्रमहरु फिर्ता गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं। ’ उनीहरुले कोभिड महामारीको समयमा पनि जनाउन भएको ऐक्यवद्धता तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यस अगाडि आवासीय चिकित्सकले आइतबार इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गर्दै नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममासमेत ऐक्यवद्धता जनाएका थिए।

सरकार र डा. गोविन्द केसी पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ। यससँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन्। सरकारसँगको वार्ता शुक्रबार भंग भएपछि डा. केसी पक्ष शनिबार आन्दोलनमा उत्रिएको थियो।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन्। सहमतिपछि डा. केसीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले सरकारी र डा. केसी पक्षबीच निर्णायक वार्ता गराउन भूमिका निर्वाह गरेकी हुन्। भंग भइसकेको वार्ता चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत रहेकी डा. शाहकै पहलमा जोडिएर निष्कर्षमा पुगेको जनाइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार ०८:१४