विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको शनिबार राति मृत्यु भएको छ। सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको हो।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका क्रममा राति १०:१५ बजे मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालको भनाइ छ। मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको उनले बताए।
त्यस्तै दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको जानकारी दाहालले दिए। उनका अनुसार उपचारका लागि असोज २० गते भर्ना गरिएकी महिलालाई पीसीआर परीक्षण गराउँदा भोलिपल्ट कोरोना पुष्टि भएको थियो।
पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी मृतकमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको प्रबन्धक दाहालले बताए। दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी उनले दिए।
सत्यपाटी ।