सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

कात्तिक १ गतेदेखि इमरजेन्सी सेवा निशुल्क गर्ने भेरी अस्पतालको निर्णय

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले १ कात्तिक २०७७ देखि इमरजेन्सी सेवा निशुल्क गर्ने भएको छ । अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइँदै आएको शुल्क नलिने निर्णय गरेको अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।

उनले इमरजेन्सी अवस्थामा आएका बिरामीलाई अस्पतालभित्र पाइने सम्पूर्ण सेवा निशुल्क दिने निर्णय भएको बताए । अध्यक्ष धितालले कुनै व्यक्ति बिरामी भई वा दुर्घटनामा परी अस्पताल आएमा उसको अप्रेसनसमेत निशुल्क गर्ने निर्णय भएको बताए । रकम अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले इमरजेन्सी सेवा निशुल्क गरिएको उनको भनाइ छ ।

‘इमरजेन्सी अवस्थामा अस्पताल आएका बिरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स–रे, सिटी स्क्यानसम्म निःशुल्क हुने छ,’ उनले भने । अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैयाँ शुल्क लिने गरिएको छ । विभिन्न जाँचबापत शुल्क बिरामीले तिर्नुपर्छ । इमरजेन्सी सेवा निशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात बिरामी परेका व्यक्तिले छिटो उपचार पाउने र रुपैयाँ खोज्ने अवस्था अन्त्य भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार ११:१९