बझाङ । कुहिरोले ढाकेको बालीनाली भित्र्याउने बेला बर्षादको समयमा मानो मुठी छरेर उब्जेको बालीनाली भित्र्याउने बेला, गाउँमा सधैं रमाइलो त रमाइलो नै हुन्छ । तर यो सिजन चाडपर्वको बेला सबै जना जम्मा भएर पनि रमाइलो होला, म त हप्ताको एकचोटी मात्रै जान्छु । गाउँघरतिर अघिल्लो हप्ता जाँदा जताततै हरियाली थियो, मकैका बोटमा साना साना घोगाहरु निस्किँदै थिए । कतै धान पसाएको त कतै पसाउने तर्खरमा थियो । कोदो पनि केही गाना लागेको त केही लाग्नै बाँकी नै थियो ।
यो हप्ता गाउँको पुरै दृष्य बदलिएको थियो । साँझको ५ बजेको थियो । सदरमुकाम चैनपुरबाट खेतखेतै भएर जानुपर्छ । गाउँतिर बाटोमा कोही धान काट्दै थिए, कोही घाँस काट्दै त, कोही सेता सेता थैला (कट्टा) बोकेर घरतिर लिइरहेका थिए, कोही धान चुट्दै थिए, कोही पराल बोक्दै थिए, कोही बत्ताउँदै त, कोही पराल बान्दै थिए । अघिल्लो हप्ता देखिने त्यो हरियाली यो हप्ता जाँदा सबैले काटेर सुकाइसकेका थिए । कहिँकतै मात्र हरियाली थियो ।
बाँकि सबै ठाउँमा नाङ्गा डाँडाहरु मात्रै थिए । घर पुगियो, खाना खाएर सुते । विहान करिब ५ बजेतिर, गोरुलाई लगाएको घण्टी बज्यो, कतै मान्छे गुनगुन गरेको आवाज आयो घडी हेरे ५ बजेको थियो । हा…हा… तल…तल… माथिमाथि भन्दै गोरुलाई हप्काएको आवाज आउथ्यो । कतै कोदो चुटेको आवाज आउथ्यो । म ८ बजे ओछ्यानबाट उठे घामका किरणहरु डाँडामा पुगेका थिए । गाउँका सबै मान्छेहरु ब्यस्ततामै आ–आफ्नो काममा भिडिरहेका थिए ।
खेतभरि मान्छेहरु कोही गोरु जोत्दै, कोही खन्दै त कोही घाँस काट्दै, कोही नल काट्दै, कोही कोदो काट्दै थिए । अघिल्लो हप्ता बारीका काल्नामा फलेका हरिया काँक्राहरु लहरै लागेका थिए । यो हप्ता काँक्रा बेला (लहरा) काटेर केही पहेंला काक्राहरु मात्रै बाँकी थिए । कोही विशेष मान्छे टाढाबाट आउने भएकाले उसैलाई दिनुपर्छ भनेर राखेको गाउँलेहरु बताउँथे । घर अगाडि मकै लहरै लाएर घरघरमा झुन्ड्याएका थिए । रातिराति गाउँमा विजुली बत्ती नपुगेकाले सबै जम्मा भएर सोलार भएका घरमा सोलार र सोलार नभएका घरमा ट्वीलाइट बालेर मकै कोट्याउने, सिमी कोट्याउने, तनेरीहरुले आ–आफ्ना मन मिल्लेहरुलाई बोलाएर कोदोको नल काट्ने काम गर्छन् ।
दैनिकी नै त्यस्तै थियो । विहान खेतको काम साँझ घरको काममा व्यस्त देखिन्थे सबै मान्छे । मकै कोट्याउदा कोही मकै पोलेर ल्याइदिने कोही उसिनेर त कोही भटमास उसिनेर ल्याइदिन्थे । गाउँमा पहिला सबै जम्मा भएर भलिवल जस्ता खेल खेल्ने गरिन्थ्यो । कामको चापले मान्छे खाना पनि खेतमै ल्याउन लगाउछन् । टाढा तथा घरमा केही पछि गएका मान्छेलाई विशेष नै हुन्छ । चित बुझेका तथा मन मिलेका मान्छेहरु आ–आफ्नो घरमा भएका खानेकुराहरु फलफुल ल्याएर घरमा आउथे, धेरैपछि आइस् सबैले खाएर सक्काइसके तैले खान पाइनस् तेरो भाग राखिदिएको छु भन्दै दिन्छन् ।
कोरोना भाइरसका कारणले गर्दा गाउँभन्दा बाहिर रहेका सबैजसो मानिसहरु घर फर्केका छन् । सबैजना आ–आफ्नै ब्यस्ततामा छन् । कोही लेकतिर बाख्रा चराउन, कोही गोेरुभैंसी चराउन, लेकतिर जान्छन्, गाउँमा एक अर्कासँग भेट हुने भनेकै साँझ मात्रै हो । दिनभर सबै आ–आफ्नै काममा ब्यस्त हुन्छन् । डाँडाकाडामा कुहिरोले घुम्टो ओढाएको तलतिर घाम लागेको क्या रमाइलो । गाउँ लेकतिर मार्से फापर लगायत आलु, कद्दु, भुजा भित्र्याउने चटारो, स्याउका बारी खर्कको आँगनीमा भैंसी हेर्दै गोठालाहरु आहा कस्तो मनै लोभ्याउने गाउँघर कोही गाईगोरु भैंसीलाइ घाँस काट्दै कोही पानी भर्दै साना नानीहरु एक आपसमा खेल्दै गरेका दृश्य ।
गाउँघरका यस्ता दृष्यहरु शब्दमा कोर्न नसकिने, कोही डोको पिठ्युमा लगाएर हिँडिरहेका, कोही हलो समातेर त, कोही गोरुलाइ हप्काउँदै बाख्रासँगै हिँडिरहेका सबै दृश्यहरु देखिन्थे । भाईटिकालाई पर्खिरहेका सप्तरंगी फुलहरु, बर्षादको समयमा साउने भेलले जहाँ तही निक्लेका पानीका मुलहरु पनि थिए । पुरानै परिवेस त छैन, कोरोनाले गर्दा धेरै मान्छे जम्मा त हुदैनन् । तर पनि आफ्नै परिवारमा भएका सबै जना कसैका श्रीमान्, कसैका दाई, कसैका छोरा, कसैका भाई, कसैका बहिनी, कसैका श्रीमति कमाइ गर्न तथा पढाइको सिलसिलामा घर छोडेर गएकाहरु दशैंतिहार मनाउन घर फर्केका दृश्य कसैका आफन्तहरु नर्फर्केपछि फर्केकाहरुलाई उनका आफन्तले सन्चो विसन्चो सोधेको सबै दृश्यहरु झल्किन्थे गाउँघरमा । सबै आफ्नै काममा ब्यस्त छन् । आहा ! कस्तो रमाइलो मेरो गाउँघर ।








सत्यराज सिंह ।