सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा भ्रष्टाचार प्रकरण

भेरी अस्पतालका चार कर्मचारी र ११ जना व्यापारीविरुद्ध आरोप पत्र दायर

बाँके । कोरोना परीक्षण प्रयोगशाला रहेको नेपालगन्जस्थित भेरी अस्पतालका चार जना कर्मचारीसहित नेपालगन्जका ११ व्यापारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आरोप पत्र दायर गरेको छ । अस्पतालका कर्मचारी माधवप्रसाद आचार्य, अरुणराज खनाल, इन्द्रबहादुर खत्री र प्रेमबहादुर खत्रीसहित ११ व्यापारीविरुद्ध अयोगले आरोप पत्र दायर गरेको हो ।

अस्पतालमा कार्यरत कम्प्युटर अप्रेटर अरुणराज खनाललाई १६ लाख १३ हजार ९७५ रुपैयाँसहित गत साउनमा पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अस्पतालका कर्मचारी र नेपालगन्जका ११ जना व्यवसायीहरुले घुस÷रिसवत उपलब्ध गराएको देखिएकाले माग दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बिगोवापत नेपालगन्जस्थित नेपाल स्टोरका साहिद हुसैन हल्वाईसँग २० हजार, लुम्बिनी स्टेशनरीका पूर्णिमा भण्डारीसँग ४५ हजार, कमला इन्टरनेशनल तथा कृष्ण इन्टरनेशनलका दिपेन्द्र अग्रवालसँग ३६ हजार, हनुमन्त स्टेशनरी एण्ड अडर सप्लायर्सका राजेन्द्रकुमार सोनीसँग ९९ हजार ६००, रिजाल इन्फोसिस खजुराका सुदीप रिजालसँग ६० हजार, रोशनी स्टील फर्निचर उद्योगका इजामुद्दिन खाँसँग ६० हजार रुपैयाँ बिगो दावी गरिएको छ ।

त्यस्तै रुबी इलेक्ट्रिकल सप्लायर्सका अब्दुल अलि अन्सारीसँग ५६ हजार, अम्बे फर्निसिङ्ग गार्डेनका पंकजकुमार श्रेष्ठसँग ६१ हजार, बागेश्वरी विज्ञापन सेवाका ज्ञानबहादुर वलीसँग ९६ हजार, न्यू निजाम स्टोरका कमालुद्दिन मुकेरीसँग १ लाख ६१ हजार ५००, ओसियन इन्टरनेशलन तथा पश्चिमाञ्चल डिष्ट्रिब्यूटरका अबनिशकुमार अग्रवालसँग १ लाख १८ हजार ६०० रुपैयाँ बिगो दावी गरिएको छ ।

मुज्ञा दायर गरिएका चार जना कर्मचारीको योजना र मिलेमतोमा आर्थिक बर्ष २०७६÷०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलहरुबाट १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिसन लिई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । आरोप प्रमाणित भएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय माग दावी लिइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १७:४१