विराटनगर । विराटनगरस्थित लागु औषध नियन्त्रण ब्यूरोले सुनसरीको इटहरी उपमहानगरपालिकाबाट ४१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले बुधबार राति इटहरी ५ जनता बस्तीका २३ वर्षीय प्रवीण राईलाई लागु औषधसहित पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले राति राईको साथबाट सुरुमा १५ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । इटहरी ४ आइतबारेबाट लागु औषधसहित पक्राउ परेका राईसँग सोधपुछ गर्दै प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो।
यसक्रममा राई बस्दै आएका घरमा लुकाइ राखेको अवस्थामा थप २५ ग्राम ९ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
पक्राउ परेको राईविरुद्ध लागु औषध ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान सुरु गरिने बताएका कार्कीका अनुसार पक्राउ परेका राईलाई ब्यूरोको टोलीले ईलाका प्रहरी कार्यालयमा जिम्मा लगाइएको जानकारी दिए ।
सत्यपाटी ।