सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा ‘होम आइसोलेसन’मा बस्ने सङ्क्रमित बढ्दै, संक्रमण दर अझै उच्च

बाँके । बाँकेमा कोरोना संक्रमण दर अझै उच्च रहेको छ । पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको छ । लकडाउन खुलेसङ्गै होटेल, रेष्टुरेन्ट, यातायात लगायतका बजार क्षेत्र खुलेसँगै कोरोना संक्रमणमा वृद्धि भइरहेको छ । संक्रमितको संख्या बढेसँगै लक्षण नभएका सङ्क्रमितलाई होम आइसोलेसनमै बस्ने अनुमति दिइएसँगै घरमै बस्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।

यहाँका स्थानीय तहमा गरेर मंगलबारसम्म लक्षण नभएका ९० जना सङ्क्रमित आफ्नै घरमा बसेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोनाको कुनै लक्षण नभएका र कुनै अन्य स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई घरमै आइसोलेसनमा बस्न सक्ने भनी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको निर्णयपछि सङ्क्रमितहरू होम आइसोलेसनमा रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार होम आइसोलेसनमा बसेकाले तोकिएका स्वास्थ्यकर्मीको निरन्तर सम्पर्कमा रहनुपर्ने र कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल जानकारी गराउनुपर्ने निर्देशन अनुसार कोरोना संक्रमित होम आइसोलेसनमा छन् । उनले होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालजस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको बताए ।

‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे,’ उनले भने, ‘घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो । छुट्टै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।’ लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शैय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ ।

लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको उनले बताए । हालसम्म होम आइसोलेसनमा सबैभन्दा बढी नेपालगन्जमा ६० जना रहेको पनि उनले जानकारी दिए । उनका अनुसार कोहलपुरमा २४ जना, बैजनाथमा पाँच जना र डुडुवामा एक जना पनि होम आइसोलेसनमा रहेका छन् ।

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार होम आइसोलेसनमा बसिरहेकाहरूले स्वास्थ्य कार्यालयले तोकेको मापदण्ड पालना गरिरहेका छन् । जसका कारण अस्पतालमा अन्य गम्भीर र लक्षणसहितका बिरामीको उपचारमा समेत सहज भएको छ । होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वास सम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ ।

यस्तै बाँकेमा बुधबार बाँकेका थप ११ महिला र २५ पुरुष गरी ३६ जना कोरोनामुक्त भएसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७०९ पुगेको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा अन्य जिल्लाका १८ सहित ४७४ जना सक्रिय संक्रमित छन् । बाँके हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार १८६ रहेको छ भने कोरोना संक्रमणबाट हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १४:११