सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य हब बन्दै बाँके

भेरी अस्पतालमा ‘माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा’

बाँके । स्वास्थ्य उपचारमा नेपालगन्जस्थित भेरी अस्पतालले थप फड्को मारेको छ । अस्पतालले पहिलो पटक माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि अस्पतालले थप फड्को मारेको हो । अस्पतालले सो सेवा सुरु गरेपछि पश्चिम नेपालका बिरामीहरुलाई सहज हुने भएको छ ।

दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर न्यूरो सर्जरी सेवा सुरु गरिएको भेरी अस्पतालले जनाएको छ । अस्पतालमा एक करोड ४१ लाखभन्दा बढीको अपरेटिङ माइक्रोस्कोप जडानपछि मस्तिष्कका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रियामा सहजता हुने अस्पतालले जनाएको छ ।

बाहिर उपचार गर्न नसकेर बर्षौदेखि रोग पालेर बसेका बिरामीले भेरी अस्पतालबाटै सहजरुपमा सेवा लिन पाउने भएका छन् । भेरी अस्पतालले न्यूरो सर्जरी सेवा सञ्चालन गरी भरपर्दो उपचार सेवाको सुरुवातसँगै बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

नेपालगन्जमै न्यूरो सर्जरीसहित उपचार सेवा सुरु भएपछि न्यूरो सम्बन्धी जटिल समस्याका लागि पनि अन्त जानु नपर्ने भएपछि यस क्षेत्रका नागरिकहरुलाई धेरै सजिलो हुने भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनले न्यूरोसम्बन्धी बिरामीले यहीबाट सेवा पाउँदा थप सहजता हुने भएकाले सेवामा पनि स्तरीयता बढाउँदै लैजाने बताए ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले भेरीमा न्यूरो सर्जरी सेवा शुरु गरिएपछि पश्चिम नेपालका बाँकेसहित दाङ, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका नशासम्बन्धी समस्या भएका विरामीलाई उपचारका लागि भारतको लखनउ र काठमाडौं जाने बाध्यताको अन्त्य भएको बताए ।

मेडिकल सुपरिटेण्डेण्ट डा.थापाले भेरी अस्पताल नेपालगन्जमा न्यूरो सर्जन डा.हरि पौडेल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा डा.जोशन न्यौपाने, मेडिकल कलेज कोहलपुरमा डा.नरेन्द्र बास्कोटा र सञ्जीवकुमार झाजस्ता प्रसिद्ध न्यूरोका चिकित्सकहरू र रहेकोले उपचारमा सहजता हुने बताए ।

अपरेटिङ माइक्रोस्कोप जडान गरिएलगत्तै अस्पतालमा बर्दियाका दुईजना विरामीको अपरेटिङ माइक्रोस्कोपबाट सफल शल्यक्रिया गरिएको भेरी अस्पतालका न्यूरो सर्जन डा.हरि पौडेलले बताए । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज लगायत अन्य निजी अस्पतालका सेवाहरु स्तरीय हुँदै गएपछि बाँके जिल्ला पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १३:०९