सूचनाको शक्ति - The Power Of Information

        

अपराध

विभिन्न घटनामा संलग्न ६ जना पक्राउ, अपहरित बालिकाको दुई महिनापछि उद्दार

बाँके । बाँके प्रहरीले विभिन्न अपराधमा घटनामा संलग्न रहेको ६ जनालाई पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्नहरुलाई बाँके प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ व्यक्तिहरुको बारेमा जानकारी दिएको हो । उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नरैनापुर गाउँपालिका–५ स्थित सर्बराजपुरुवाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । सर्बराजपुरुवास्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक वसन्त गौतमको नेतृत्वको टोलीले हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरका ६२ बर्षिय सलिम नाउँ र वडा नं. १९ बासुदेवपुर, बनघुस्राका ३३ बर्षिय ईब्राहिम बेहनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले शंकास्पद प्लाष्टिक बोरा भुईमा फालेपछि उक्त बोरा खोलेर हेर्दा दुई वटा कटुवा पेस्तोल र सलिम नाउँले लगाएको स्टकोटको बायाँ खल्तीमा रहेको कटवा पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित दुबै जनालाई पक्राउ गरेको छ ।

पक्राउपछि उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

मारेको चित्तलसहित दुई पक्राउ

यस्तै प्रहरीले जंगली जनावर मारेको चित्तलसहित दुई जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकबाट जंगली जनावर (चित्तल) मारेर डुडवातर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा मंगलबार राती साढे १० बजे प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ राप्तीनदी पुलमा फत्तेपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका राप्तीसोनारी–६ का २३ बर्षिय सामेल रोका र २८ बर्षिय अन्जन हमाललाई भे ८ प ५४६५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

मोटरसाइकलमा सवार रहेका उनीहरुले बोरामा रहेको अन्दाजी २६ किलोको पोथी जातको चित्तलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

बरामद चितल राप्तीसोनारी–६ ढलैयाका रामु वलीबाट रु.११ हजारमा खरिद गरी ल्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । रामु वली आफैं मारेको वा अन्य व्यक्तिबाट खरिद गरेको खुल्न नसकेको र उनको खोजतालस भइरहेको बाँके प्रहरीले जनाएको छ ।

अपहरित बालिकाको दुई महिनापछि उद्दार

दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । बालिकाको अपहरणमा संलग्न बढैयाताल गाउँपालिका–७, बर्दियाका २१ बर्षिय मुकेश यादव, ५५ बर्षिय हरिराम अहिर र बढैयाताल ७ का ३५ बर्षिय अगलेश यादवलाई पक्राउ गरेको छ भने अपहरणमा संलग्न बढैयाताल गाउँपालिका–७, कै अगलेश यादव भने फरार रहेका छन् ।

अगलेश समेतका ब्यक्तिहरु बालिकाको घरमा पुगेर बालिकालाई डरत्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेशकुमार सापकोटाको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी पीडित बालिकाको उद्दार गरेको हो ।

मुलुकी अपराध संहित ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्ष देखि १५ बर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरक्षीक रानाले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १२:२५