काठमाडौं । कोरोनाबाट थप चारको मृत्यु भएको छ । बुटवल र चितवनमा गरी पछिल्लो पटक थप चारको मृत्यु भएको हो ।
बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।
असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति साढे १२ बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभएको हो ।
यसैगरी चितवनमा २ सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको हिजो साँझ साढें ५ बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको हिजै साँझ ६ बजे मात्र कोरोना रिपोर्ट पजेटिभ आएको जानकारी दिनुभयो ।
यस्तै, हिजैै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ सय ६७ पुगेको छ । हिजो दिउँसोसम्म स्वास्थ्य मन्त्रालयले ९ जनाको मृत्यु पुष्टि गरेको थियो ।
हिजो १ हजार ५ सय ५१ संक्रमित थपिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । हिजो २ हजार ३ सय ४० जना डिस्चार्ज हुँदा देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ कायम भएको छ ।
सत्यपाटी ।