सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश स्थानीय राजधानी

मतदानबाट टुङ्गियो प्रदेश ५ को स्थायी राजधानी

बाँके । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन् ।

यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित छन्। यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो । संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने उल्लेख गरेका थिए ।

अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी तय भएको छ । प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोडसमेत गरेका थिए । अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १६:०७