सूचनाको शक्ति - The Power Of Information

        

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सरकार पुनर्गठन, राजनीतिक नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सचिवालय बैठक आइतबारका लागि बोलाइएको थियो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको कारण देखाउँदै बैठक स्थगित भएको बताए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका सल्लाहकार, सचिवालयका कर्मचारीका साथै सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित ७० भन्दा बढीमा कोरोना भाइरसको संक्रण पुष्टि भएपछि बैठक स्थगित भएको हो । सल्लाहकार, सचिवालय तथा सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव, राजदूत नियुक्तिबारे गरिएको निर्णयमा परामर्श नगरेको भदै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट छन् । सो नियुक्तिका विषयमा समेत बैठकमा छलफल गर्ने बताइएको थियो ।

यसैगरी, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा समेत छलफल गर्ने एजेन्डा रहेको थियो । मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगका रिक्त पदमा पदाधिकारी नियुक्तिलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहालबीच छलफल हँुदै आएको भए पनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १०:४२