सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघमा २० दिनदेखि तालाबन्दी

बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखामा ताला लगाएको २० दिनसम्म पनि खुलेको छैन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले भदौ २८ गते सिफारिस गरी नयाँ सदस्यताका लागि पठाएको निर्णय र सदस्यता थपमा परेका ब्यक्तिको नामावलीप्रति प्रेस संगठन नेपालले आपत्ति जनाउँदै भदौ ३० गते लगाएको ताला लगाएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रदेशबाट जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुको नामसहित सिफारिस गर्न भनि परिपत्र आएकोमा नेपाल पत्रकार महासंघ बझाङले गैरपत्रकारहरुको सदस्यता सिफारिस गरेको भन्दै प्रेस संगठन बझाङले आपत्ति जनाएको हो ।

जिल्लामा सञ्चालित विभिन्न मिडिया हाउस र पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न कुनै पनि मिडियामा आवद्घ नभएका तथा राजनीतिज्ञलाई समेत महासंघको सदस्यता वितरणका लागि सिफारिस गरेको पाइएकाले तालाबन्दी गरेको प्रेस संगठन बझाङका सहसंयोजक राजेन्द्र सिंहले बताए ।

बेलाबेलामा गैरपत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन बझाङले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकारको सदस्यता सिफारिसलाई सच्याउनुपर्ने भन्दै महासंघको कार्यालयमा तालाबन्दी गरेको २० दिनसम्म कुनै सुनुवाइ नभएको जनाएको छ । यसै विषयलाइ लिएर असोज २ गते बसेको सर्वपक्षिय बैठक पनि सोमबार बस्ने गरी स्थगित गरिएको थियो ।

साथै सिफारिस गरिएका गैरपत्रकारहरुको नाम खारेज गर्ने तथा विवाद समाधानका लागि चार सदस्यीय समिति गठन भए पनि २० दिनसम्म कुनै टुङ्गो लागेको छैन । पत्रकार महासंघ बझाङका अध्यक्ष जगदीस रोकायाले पत्रकार बसन्तप्रताप सिंह, सम्राट सिंह, जनक खड्का र जगत खड्का गरी चार जनाको समिति गठन गरेको जानकारी दिए ।

‘गठीत समितिले निष्कर्ष निकाकेको आधारमा अघि बढ्ने हो । चारैजना अहिलेसम्म बस्नुभएको समितिको निर्णय आपछि ताला खुल्छ,’ अध्यक्ष रोकायले भने । यता छानविन समितिमा रहेका पत्रकार वसन्तप्रताप सिंहले छानविन समितिमा आफुलाई राखिएको विषयमा हालसम्म जानकारी नभएको बताए ।

‘केहीदिन अनौपचारीक रुपमा बसेर विवाद मिलाऔं भनने कुरा भएको हो । समसतिमा मलाई राखिएको जानकारी छैन,’ पत्रकार सिंहले भने । साथै पत्रकार महासंघले विवाद सुल्झ्याउन तथा ताला खोल्ने विषयमा छलफल गर्न खासै चासो नदिएको तथा आनाकानी गरेको समेत संगठनले आरोप लगाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १६:१८