सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा स्थायी राजधानी विवाद

बुटवलमा ‘निषेधाज्ञा’, काठमाडौंमा तानाबाना बुन्दै मुख्यमन्त्री

बुटवल । शुक्रबार बिहानै मुख्यमन्त्री शंकर पोख्रेलले मन्त्रिपरिषद बैठक बोलाए । बैठकका बारेमा मन्त्रीहरूलाई केही थाहा थिएन । मुख्यमन्त्री आफैंले प्रदेशको नाम, ‘लुम्बिनी प्रदेश’ र राजधानीको नाम ‘दाङ देउखुरी उपत्यका’ बनाउने प्रस्ताव पेस गरे । मन्त्रीहरू मुखामुख गरे, मुख्यमन्त्रीसँग दोहोरो कुरै भएन ।

त्यस दिन मन्त्रिपरिषद बैकठकको नियमित चारवटा मात्रै अजेन्डा थिए । पाँचौं अजेन्डा मुख्यमन्त्री आफैंले मन्त्रिपरिषद ल्याएका थिए । त्यसलगत्तै हतारहतार प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव शुक्रबार नै प्रदेशसभामा पेस भयो । विपक्षीले होहल्ला गरे । अनि, सभामुख पूर्णबहादुर घर्तीले संसद १९ गतेसम्म स्थगित गरिदिए ।

संसदमा हल्लाखल्ला हुँदै गर्दा बुटवलमा आन्दोलनको आगो सल्किसकेको थियो । नेपाली कांग्रेस लगायत आन्दोलनकारीले १८ गतेदेखि नै पूरै रुपन्देही जिल्ला बन्द आह्वान गरेका छन् । शनिबार मुख्यमन्त्रीले आफ्नै निवासमा नेकपाका सांसदहरूलाई बैठकमा डाके । बैठकमा सांसदहरूबीच चर्काचर्की भयो । सांसदहरू बुटवल र दाङको पक्षमा बाँडिए ।

त्यत्तिकैमा १४ जना सांसदले लिखितरूपमा ‘नोट अफ डिसेन्ट’ मुख्यमन्त्रीलाई बुझाए । मुख्यमन्त्रीले सबैलाई एक भएर प्रस्तावको पक्षमा अघि बढ्न निर्देशन दिए । सरकारको प्रस्तावकै पक्षमा लाग्न सबै सांसदलाई पार्टीको ‘ह्विप’ जारी भयो । मुख्यमन्त्री निवासमा जानकारी दिन नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले पत्रकार बोलाए ।

उनले कुरा सुरु गर्दागर्दै मुख्यमन्त्री काठमाडौं जान भन्दै गाडी चढेर भैरहवा विमानस्थलतिर लागे । त्यसैबीचमा प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र सामाजिक विकास मन्त्री सुदर्शन बरालबीच घोचपेच चल्यो । सामाजिक विकासमन्त्री बरालले सरकारले अघि बढाएको प्रस्तावमा मतदान गर्ने निर्णय भएको बताए ।

र, अब राजधानी दाङको भालुवाङ क्षेत्रमा हुने बताइरहँदा सरकारका प्रवक्ता चौधरीले त्यस्तो नभएको बताए । ‘होइन, कुरा असहमतिको पनि आएको छ । पक्षविपक्षमा माननीयहरूले कुरा राख्नुभो । अहिलेका लागि राजधानी बुटवल नै हो, सरकारले प्रस्ताव मात्रै लगेको हो । पास नहुँदासम्म राजधानी बुटवल नै हो,’ उनले भनेका थिए ।

ती दुई मन्त्रीको कुरा सुन्दा नेकपाभित्रै पनि राजधानी विवादले आगो लागिसकेको प्रष्टै थियो । प्रमुख सचेतक ढकालले पत्रकारहरूसँग राजधानीको अजेन्डामा दाङ उपयुक्त भएको निर्णय भएको बताए । उनले भने, ‘असहमति भएको भए पनि अब माननीयहरूले सरकारले अघि बढाएको प्रस्तावमा मतदान गर्नुहुन्छ ।’

उनले बैठकमा चर्काचर्की भएको विषय, नोट अफ डिसेन्ट लेखिएको विषयमा जानकारी नै दिएनन् । सचेतक ढकाल छोटकारीमा निर्णय सुनाएर तर्किने प्रयास गरे । मुख्यमन्त्री काठमाडौं नपुग्दै नेकपा संसदीय दलमा भएको बैठकको चर्काचर्की र ‘नोट अफ डिसेन्ट’ बाहिर आयो । यस विषयमा मुख्यमन्त्री प्रदेशसभा गएका छैनन् भने पत्रकारसँग कुराकानी पनि गरेका छैनन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव पेस गर्न लगाए, आफू उपस्थित भएनन् । शनिबार प्रमुख सचेतकलाई बैठकको निर्णयबारे पत्रकारसँग बोल्न लगाए आफू देखिएनन् । आइतबार उनले संसदमा रहेका विपक्षी दलका नेताहरूसँग छलफल गर्न मन्त्री केसी र प्रमुख सचेतक ढकाललाई जिम्मेवारी दिएर आफू काठमाडौंमै छन् ।

अहिले बुटवलसहित रुपन्देहीका विभिन्न ठाउँमा आन्दोलन चर्किएको छ । टायर बालेर र गाडी तोडफोड गरेर आन्दोलन चर्काउने प्रयास भइरहेको छ । सामाजिक संघसंस्थाका प्रतिनिधित्व गर्ने रुपन्देही सञ्जालले विरोध ¥याली निकाली कोणसभा गरिसकेको छ । सञ्जालले सोमबार लुम्बिनी बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

त्यसैगरी नेपाली कांग्रेस रुपन्देहीले आइतबार रुपन्देही बन्दको घोषणा गरेको छ भने सोमबार प्रदेशसभा भवन घेराउ गर्ने कार्यक्रम कांग्रेस र रुपन्देही सञ्जालले राखेका छन् । शुक्रबार संसदमा राजधानीको नाम र केन्द्रको प्रस्ताव लैजानुअघि मुख्यमन्त्रीले मन्त्रालयका सचिवसहित कर्मचारी र नेताहरूलाई निर्देशनपछि मध्यरातपछिसम्म मुख्यमन्त्री कार्यालयका सचिवसहित केही कर्मचारी आँखा मिच्दै कानुन र दस्तावेजका फाइल मिलाउन बाध्य भए ।

अहिले मुख्यमन्त्री काठमाडौंमा छन् । काठमाडौंमा उनले दुई रणनीति बनाएर पार्टी नेता भेटिरहेका छन् । पहिलो, नेकपाका सांसदहरूलाई सकेसम्म ह्विप नै लगाएर प्रस्तावको पक्षमा मतदान गराउने । दोस्रो, यदि लुम्बिनीका सांसदहरू मतदानबाट बाहिरिए विपक्षी दल कांग्रेस र साना दलका सांसदलाई सम्बन्धित पार्टीका ठूला नेताबाट दबाब दिन लगाएर प्रस्ताव पारित गर्ने ।

उनले काठमाडौंमा रणनीति बनाइरहँदा बुटवलमा रहेको उनकै दलका सांसदहरूले भने मुख्यमन्त्रीले कोरोना महामारीको बेला राजधानीको विषय उठाएर बुटवलमा आगो सल्काएको आरोप लगाएका छन् । ‘मुख्यमन्त्रीले हाम्रो त राजनैतिक भविष्य नै सकिदिनुभयो, आफू भने काठमाडौंमा तानाबाना बुन्दै हुनुहुन्छ होला,’ आइतबार बिहान नेकपाका एक सांसदले पत्रकारसँग अनौपचारिकरूपमा भनेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १६:०५