सूचनाको शक्ति - The Power Of Information

        

मोरङ र लमजुङमा दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

काठमाडौं । मोरङ र लमजुङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका तावाहाङको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे ९ बजेतिर बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार छन् । मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

तीन जनाको अवस्था गम्भीर छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन् ।

घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर । उनीहरुको न्यूरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै लमजुङको बेंसीशहरमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

बेंसीशहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीशहर १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा बेंसीशहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०८:५१