सूचनाको शक्ति - The Power Of Information

        

आत्मनिर्भरताको बाटो

स्वरोजगार बन्दै दृष्टिविहीन युवा, व्यवसायमा लागेपछि हट्यो चिन्ता

बाँके । नेपालगन्जका दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगन्ज–१० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक समिप चौधरीले बताए ।

३३ वर्षीय चौधरीका अनुसार गत असारदेखि शुरु गरेको यो व्यवसायमा १८ युवायुवती संलग्न रहेका छन् । बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन् ।

‘दृष्टिविहीन आफैँले कमाउन सक्छन् भन्ने देखाउनका लागि हामीले यो व्यवसाय शुरु गरेका छौँ,’ चौधरीले भने, ‘भविष्यमा शिक्षण पेशाबाहेक के काम गर्न सकिएला र भन्ने लागेको तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ ।’

सशक्तिकरण युवा समूहमार्फत सङ्गठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निवासी २३ वर्षीय आशाराम थारूले बताए । समूहमा आवद्ध युवायुवतीले आफ्ना उत्पादनहरु लिएर गाउँगाउँमा पुग्छन् । त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाइरहेको थारूको भनाइ छ ।

उनीहरुले गाउँगाउँबाट धनिया, अदुवा, बेसारलगायत अग्र्यानिक मसला ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन् । मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन् । आफूहरुले नै मेसिन चलाउन सिकिसकेकाले विस्तारै मसला उद्योग नै सञ्चालन गर्ने योजना रहेको थारू बताउँछन् ।

काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ । आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझको रूपमा हेर्ने गरेकामा काम गर्न थालेपछि घरपरिवार र समाजको समेत सोचाइ फेरिएको उनले उल्लेख गरे । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दृष्टिविहीन युवाहरु आफैँ स्वरोजगार हुनु उदाहरणीय कार्य भएको बताउँदै सङ्घबाट आवश्यक सीप तथा सहयोगको पहल गर्ने उल्लेख गरे ।

‘कामप्रतिको रुचि, इच्छाशक्ति र योजना भए सफलता हासिल गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो,’ अध्यक्ष मन्सुरीले भने, ‘कुनै पनि काम शुरु गर्नासाथ सफलता हासिल हुन नसके पनि त्यसलाई निरन्तरता दिन सके अवश्य पनि सफलता प्राप्त हुने भएकाले योजनाका साथ लाग्न सक्नुपर्दछ ।’

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०८:२३