सूचनाको शक्ति - The Power Of Information

        

निषेधित क्षेत्र

बुटवलमा आन्दोलन चर्किन थालेपछि आजबाट विभिन्न क्षेत्रमा निषेधाज्ञा

५ जना भन्दा बढी जम्मा हुन रोक

काठमाडौं । प्रदेश राजधानीको बिषयलाई लिएर आन्दोलन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ।

रुपन्देहीका स्थानीयतहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गर्दै प्रदर्शन हुन थालेपछी रुपन्देहीको बुटवलमा निषेधआज्ञा जारी भएको हो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ। यस क्षेत्रका संघसंस्था र राजनीतिक दलले प्रदर्शन गरेपछि प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचनामार्फत जनाएको छ।

यस्तै, मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइने छैन।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०७:४०