सूचनाको शक्ति - The Power Of Information

        

बेवारिसे चारजना बालबालिकाको उद्धारपछि पुनस्थापना

बेवारिसे भेटिएका चार वालवालिका

जुम्ला । जुम्लामा बेवारिसे भेटिएका चार जना बालबालिकाको पुनस्थापना लागि व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरुको सहयोगमा उनीहरुलाई सुर्खेत पठाइएको हो ।

महिलाका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनीहरुको पहिचान खुलेपछि उनीहरुलाई गाँस, बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

आश्रय केन्द्रका अध्यक्ष भगवति श्रेष्ठका अनुसार उनीहरुले शुरुमा नाम पनि फरक दिएका थिए । अहिले बास्तविक ठेगाना पहिचान भएको छ । मधु भनिएकी सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको छ । तीन बर्षको छोरा सुनिता परियारको भएको खुलेको छ । अर्का गीत भन्ने कविता परियार रहेको खुलेको छ ।

कविताको आमाको निधन भइसकेपछि बुबाले कान्छी श्रीमति ल्याएपछि शारिरिक तथा मानसिक हिंसामा परेकाले कामको खोजीमा जुम्ला आएका थिए । उनीहरुलाई बेबारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा आपकालिन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो ।

उनीहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख माधव काफ्ले, चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईं, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठसहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको हो ।

सुर्खेतमा कोपिला भ्याली र मानव सेवा आश्रममा तत्कालिन पुनस्थापनाका लागि कुरा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । यसैगरी, चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा उनीहरुलाई जुम्लाबाट सुर्खेत पठाइएको निमित्त प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।

यसअघि उपप्रमुख अप्सरा महत न्यौपाने सेवा केन्द्रमा गई सुरक्षा सामाग्रीहरु समेत वितरण गरेकी थिइन् । उमेरमा १६, १७ वर्ष कटेका ती किशोरीहरु दुर्व्यवहारबाट समेत बचेका आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठले बताइन् । यदि समयमै उद्धार नभएको भए उनीहरु यौन हिंसामा समेत पर्ने डर थियो ।

स्थानीयले खबर गरेपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, चन्दननाथ नगरपालिकासहितको सहयोगमा सेवा केन्द्रमा उनीहरुलाई आश्रय दिइएको र अहिले पुनस्थापनका लागि सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार १७:४०