सूचनाको शक्ति - The Power Of Information

        

सार्थक सम्वाद

साताभित्रै भेरी अस्पतालमा थप ७५ बेडको आइसोलेसन सञ्चालनमा

आइसोलेसन व्यवस्थापन तथा सञ्चालनका लागि छलफल गरिँदै । फाइल तस्वीर

बाँके । बाँकेका कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहेका बेला नेपालगन्जस्थित भेरी अस्पतालमा थप ७५ बेडसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी गरिएको छ । बढ्दो कोरोना (कोभिड १९) संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सरोकारवालासँग अन्तरसम्वाद गरेपछि भेन्टिलेटरसहितको सुविधायुक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।

लक्षणसहितका गम्भीर विरामीहरुको संख्या बढ्दै गएपछि समूहले थप आइसोलेसनको आवश्यकताका सन्दर्भमा सम्वाद सजीकरणमार्फत सहकार्यको प्रतिवद्धता सिर्जना गरेको हो । स्थानीय तह, स्वास्थ्य सम्वद्ध प्रमुखसहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भेरी अस्पतालमा ७५ बेडको आइशोलेशन सञ्चालन गर्ने निर्णय गरेको छ । भेरी अस्पतालमा यसअघि अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले एक हप्ताभित्र आवश्यक संरचना तयार गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिका अनुसार उपभोक्ता समितिमार्फत एक करोडको बेड, भेन्टिलेटरसहितको आवश्यक संरचना तयार गरिनेछ । आइसोलेसन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकस्मीक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

बाँकेमा दैनिक ३० जनामा (औसतमा) कोरोना पोजेटिभ देखिइरहँदा थप संक्रमितलाई राख्न सक्ने अवस्था नभएको भन्दै विज्ञहरुले यसअघि नै भेरी अष्पतालमै आइसोलेसन सञ्चालन गरिनुपर्ने सुझाएका थिए । आइसोलेसनका सञ्चालनका लागि स्टोर गरिएका सरसामान व्यवस्थापन गर्नेदेखि प्राविधिकीय तयारी पनि शुरु गरिसकिएको भेरी अस्पतालका कोभिड १९ कमाण्डर डा श्यामसुन्दर यादवले जानकारी दिए । कोरोना संक्रमणकै कारण अहिले सम्म बाँकेमा २६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ११:४६