सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट बरिष्ठ चिकित्सकको निधन, कर्णालीलाई अपूरणीय क्षति

फाइल तस्वीर

बाँके । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक जना चिकित्सकको चिकित्सकको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भई प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा.हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत उनको आज दिउँसो मृत्यु भएको भेरी अस्पतालले पुष्टि गरेको छ । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज १ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए । ‘हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिएन मेसु थापाले भने, ‘एउटा होनहार चिकित्सक गुमाउनु पर्दा निकै दुखी भएका छौं ।’ उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित उनी थिए ।

कर्णालीलाई अपूरणीय क्षति

बाँकेको खजुरा गाउँपालिका–३ घर भएका डा.सापकोटाको निधनले खजुरा क्षेत्रका साथै सिङ्गो बाँके जिल्ला शोकमा डुबेको छ । उता कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले डा.सापकोटाको निधनले कर्णाली प्रदेश शोकमा डुबेको र चिकित्सा क्षेत्रमा प्रदेशले अपूरणीय क्षति भोगेको बताएका छन् ।

डा.सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका सारथी तथा देउती नर्सिङ होम सुर्खेतका निर्देशक खगेन्द्र थापाले दरबन्दी भेरी अस्पतालमा भए पनि लामो समयदेखि सुर्खेतमा कार्यरत डाक्टर सापकोटा अत्यन्तै मिलनसार, सुशील स्वभावका व्यक्तिमात्र नभई सुर्खेती र आम कर्णालीबासीका माझ लोकप्रिय रहेको बताए ।

निर्देशक थाापाले भने, ‘उहाँमा कहिल्यै पनि घमण्ड र अहमता देखिएन । विरामीको सेवामा चौविसै घण्टा खठने डाक्टर सापकोटा प्रदेश अस्पतालबाट बचेको समयमा देउतीमा पनि विरामीको सेवामा सक्रिय हुँदै आउनुभएको थियो ।’ डाक्टर सापकोटाको निधनको खबरले सुर्खेत र कर्णालीका आमनागरिक पीडामा परेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १८:२८