सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा हात धुने अभियान सञ्चालनमा

बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि एक महिने हात धुने अभियान सञ्चालन गरेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपूर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

अभियान शुरु भएपछि सावुन पानीले नियमितरुपमा हात धुने बानीमा बृद्धि भएको र हाल प्रदेशमा ९० प्रतिशतले नियमित रुपले हात धुने गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । अभियानले प्रदेशमा शतप्रतिशत मानिसमा नियमित सावुन पानीले हात धुने बानी बसाल्ने अपेक्षा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गरेका छन् । प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारीपछि नियमितरुपमा हात धुनेको संख्या बढेको युनिसेफले जनाएको छ । प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानेपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरी काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुवकुमार धितालले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १३:१२