सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक

शंकरदास मुख्यसचिव, खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूतमा नियुक्त

काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो ।

बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजिनामा स्वीकृत गरेको थियो ।

त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिवले गर्ने जिम्मेवारी सम्हालेका थिए । त्यसपछि दोस्रो एजेण्डाको रुपमा मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन् । मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो ।

राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहानमात्रै राजीनामा दिएका थिए । संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १२:१७