सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप दुई जना कोरोना संक्रमतिको मृत्यु

बाँके । बाँकेमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको थियो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते कोरोना परीक्षणका लागि स्वाव दिएका नेपालगन्ज–४ का ५२ बर्षीय पुरुषको १२ गते पोजेटिभ रिपोर्ट आएपछि उनलाई सोही दिन आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई रेमडिसिभिर औषधिसमेत दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनको विहीबार विहान साढे पाँच बजे मृत्यु भएको र मृतकको दुवै फोक्सोमा निमोनिया देखिएको थियो । त्यस्तै लडेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो । असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा विहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।लयोसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अन्य जिल्लाबाट आएर भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ११:४९