सूचनाको शक्ति - The Power Of Information

        

अनलाइन क्लासका ‘साइड इफेक्ट’

‘ग्याजेट’मा समय बिताउने बालबालिकालाई समस्या

अहिले, सहर बजारका विद्यार्थीहरू पढ्ने नाममा धेरै समय ‘ग्याजेट’मा बिताइरहेका छन् । विद्यालय वा शिक्षकले २ घण्टाको अनलाइन कक्षा लिने गरेको भए पनि विद्यार्थीहरू भने ‘प्रोजेक्ट वर्क’ र ‘होमवर्क’ छ भन्दै धेरै लामो समयसम्म मोबाइल वा ल्यापटपमा बिताउने गर्छन् । यस्तो महामारीका बेला हामीसँग पढ्न र पढाउनको लागि यो ‘ग्याजेट’को विकल्प पनि छैन । बच्चाहरू लामो समयसम्म मोबाइल र ल्यापटपमा झुण्डिरहँदा बालबालिकाहरूमा मानसिक र शारीरिक स्वास्थ्यमा पनि नराम्रो असर पर्न थालेको छ ।

अहिलेको समयमा बच्चालाई पढाउने उपाय भनेकै अनलाइन माध्यम बनिरहेको छ । यसलाई हटाउनु पर्छ या अनलाइन पढाइले बच्चा बिगा¥यो भनेर भनियो भने समय अनुसार सुहाउने कुरा पक्कै होइन । तर बच्चालाई पढ्ने समयमा मात्र यस्ता ‘ग्याजेट’ उपलब्ध गराएर २४ सैं घण्टा मोबाइलमा झुन्डिन नदिने विकल्पमा शिक्षक वा अभिभावकले खोज्न ढिला गरिनुहुँदैन । हिजोआज अधिकांश अभिभावकको एउटै गुनासो हुने गरेको छ । बच्चा जति बेला पनि मोबाइल या ल्यापटपमा झुन्डिएर हैरान पार्यो ।

मोबाइलमा ब्याट्री सक्यो ल्यापटपमा, ल्यापटपमा ब्याट्री सक्यो टेलिभिजनमा, घरका सबै सदस्यको मोबाइल लिएर हेर्न भ्याइ सकेका हुन्छन् । बाबु आमा दुबै काममा निस्कने भएपछि घरमा बच्चा एक्लै रहन्छन् या त सहयोगीको भरमा छाडेर जानुपर्ने हुन्छ । घरकै सदस्यसँग रहे पनि अनलाइन पढाइ हुने भएपछि छोराछोरीलाई मोबाइल या ल्यापटप दिनै पर्ने बाध्यतामा अभिभावक छन् । बच्चाले पढेको छ कि छैन, ल्यापटप खोलेर के गरिरहेको छ, कुन साइट हेरिरहेको छ लगायतका कुराहरू कत्ति अभिभावकले छुटाउन समेत सक्दैनन् ।

यही कमजोरीको फाइदा कतिपय बालबालिकाहरूले उठाइ पनि रहेका छन् । पढेलेखेका आमाबाबु छन् भने पनि आफ्ना बच्चाको जिद्दीको अगाडि बाबु आमाको केही सिप लाग्दैन र बच्चाले जिद्दी गरेरै मोबाइल समाइहाल्छन् । केही दिन पहिले एक निजी विद्यालयले अभिभावकसँग मिटिङ आयोजना गरेका थियो । त्यहाँ धेरै अभिभावकले यस्तै विषयमा गन्थन मन्थन गरे । कत्तिले त आफ्ना छोराछोरीले ‘गलत साइट’ हेर्न सुरु गरेको सङ्केत गर्दै शिक्षकसँग छुट्टै कुरा गर्न सकिन्छ भन्दै शिक्षकसँग समय समेत मागिरहेका थिए ।

हामी पढाइको नाममा बालबालिकालाई मोबाइल थमाउँदै छौ तर यस्का नकारात्मक पक्ष पनि हुन सक्छन् भनेर रत्तिएर सावधानी अपनाइरहेका छैनौँ । अनुसन्धानले के पनि देखाइसकेको छ भने बालबालकिाहरु धरै समय मोबाइल, ल्यापटप जस्ता सामग्रीमा अल्झिएपछि उनीहरूमा शारीरिक र मानसिक समस्या देखिन्छ । एक जना छिमेकी दाइले बच्चाको ढाड निकै दुख्यो भन्दै अर्थोपेडीक डाक्टर कहाँ आफ्नो नातिलाई लानु परिरहेको छ । उहाँको भनाइ थियो डाक्टरले सबभन्दा पहिले नाति दिनभर के गरेर बस्छन् भनेर सोधेछन् ।

क्लास भएको समयमा पढ्छ अरुबेला मोबाइल नै हातमा हुन्छ भनेपछि कसरी बसेर मोबाइल हेरेको हुन्छ भनेर फेरी डाक्टरले सोधेछन् । कहिले सोफामा डल्लो परेर र कहिले ओछ्यानमा गुटमुटिएरै बसेको हुन्छ भनेपछि डाक्टरले सबभन्दा पहिले त्यो लत हटाउन सुझाएछन् र हल्का ढाड सोझो पार्ने व्यायाम सिकाएर पठाएछन् । अहिले धेरैको घरमा बच्चाको हालत करिब करिब यस्तै छ । धेरै बच्चामा मानसिक समस्या देखिन थालेको छ । मोबाइल र ल्यापटपमा झुन्डिन थालेपछि बच्चाहरूलाई भोक पनि लाग्न छोडेको छ, खान नै बिर्सन थालेका छन् ।

खानेकुरा अगाडि लगेर राखिदिए पनि खाइराखेका हुँदैनन् । सानो तिनो कुरामा रिसाउने, झर्को मान्ने अनि कुनै काम गर्दा ध्यान लगाएर नगर्ने बानी ‘ग्याजेट’ मा नै धेरै समय खर्चिने बानी बच्चाहरूमा देखिन थालेको छ । कोही त एकोहोरिने, अर्काको कुरालाई ध्यान नदिने समेत समस्या देखिन थालेको छ । डाक्टरका अनुसार, बालबालिकाले लामो समय मोबाइल हेरिरहँदा अधिकांश बालबालिकामा आँखाको समस्या आउन थालेको छ । यसैगरी ब्रेनलाई पनि सुस्त बनाउन थलेको विभिन्न अनुसन्धानले देखाउन थालेका छन् ।

बालबालिकाहरूलाई डिप्रेसनमा पनि जान सक्ने सम्भावना हुन्छ । बालबालिकाले मोबाइल एक्लै बसेर हेर्दा परिवारको सदस्यसँग कुरा नगर्ने, एकोहोरिने जस्ता समस्या आउँछन् । यसै गरी बालबालिकाहरूमा मोटोपना देखिने, समाजमा घुलमिल हुन नसक्ने, समयमा खाना नखाइदिँदा कोही बालबालिका धेरै दुब्लो पातलो पनि हुने सम्भावना हुन्छ । सबभन्दा ठुलो कुरा त बच्चाको सृजनशीलतालाई मोबाइल हेर्ने बानीले पनि सखाप पारिरहेको छ । ‘ग्याजेटको प्रयोगबाट धेरै सृजनशील कामहरू पनि सिक्न सकिन्छ ।

आफ्नो बच्चाले के हेरिरहेको छ, कुन साइट हेरिरहेको छ यसमा अभिभावकले अनुगमन गर्न अत्यन्त जरुरी छ । किनभने ग्याजेटको प्रयोगबाट बच्चाहरू कुलतमा नजाउन् भनेर रोक्न सक्ने भनेको उसका अभिभावक नै हुन् । होमवर्क गर्नु छ भन्दै जतिबेला पनि मोबाइल हातमा लिने बालबालिकाको सङ्ख्या धेरै छ र बच्चाले होमवर्क गर्नु छ भन्दै अभिभावकलाई छल गरिरहेका हुन्छन् । बच्चाले जति छल गरे पनि खाना खाँदा मोबाइल हेर्न वर्जित नै गर्नुपर्ने हुन्छ । कुनै पनि बच्चालाई दुई घण्टाभन्दा लामो समय ‘ग्याजेट’ चलाउन दिनु उपयुक्त मानिँदैन ।

यदि मोबाइल हेर्न दिने हो भने पनि आफ्नै अगाडि राखेर केही नयाँ सिक्न सक्ने कुरामात्र हेर्न दिनुपर्छ भनेर मनोविद्हरू सल्लाह दिने गरेको पाइन्छ । यसैगरी सुत्ने कोठामा मोबाइल र टेलिभिजनको प्रयोग नै गर्नुहुँदैन । सवारी साधन हाँक्दा, बाटो क्रस गर्दा मोबाइल फोनको प्रयोग गर्नुहुँदैन भनेर आफ्ना नानीलाई सानैदेखि सिकाउनुपर्छ । अभिभावकले समेत बच्चाको अगाडि मोबाइल चलाउन नियन्त्रण गर्नुपर्छ । यसो गर्यो भने बच्चाहरू ग्याजेटबाट थोरै भए पनि टाढा राख्न सकिन्छ कि ?

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ०८:४९