काठमाडौं । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आउँदो सोमबारबाट खुल्ने भएको छ ।
नेपालमा कोरोना संक्रमण तीव्र रूपमा बढेको र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो जाने क्रम बढेपछि बन्द रहेको यो नाका नेपाली पक्षको प्रयासपछि बल्ल सुचारु हुन लागेको हो ।
मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकले स्वास्थ्य मापदण्ड पूरा गरी नाका सुचारु गर्ने निर्णय गरेको छ । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख छलफलमा सहभागी भएका थिए ।
तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरू छलफलका लागि उपस्थित भएका थिए । तातोपानी नाका २०७२ को विनासकारी भूकम्पले बन्द गराएको थियो । २०७२ मा बन्द भएको यो नाका २०७६ जेठमा खुले पनि फागुनमै फेरि बन्द भयो । चीनमा देखिएको कोभिड १९ का कारण बन्द गरिएको नाका स्वास्थ्य सामग्री ल्याउँदा खुलाइएको थियो ।
पछि तातोपानीबाट सबैखाले सामग्री ल्याउने निर्णय गरेसँगै खुलेको नाका पछिल्लोपटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीमा बाढी आएर सडक क्षतविक्षत बनाएपछि असार २५ बाट नाका बन्द थियो । असार २५ पछि बल्ल आइतबार नाका पुनः सुचारु हुन लागेको हो ।
खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाकै गोदाममा रहेको जानकारी पाएको प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिए ।
‘‘बैठकले पुरानै मोडालिटीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ,’’ भन्सार प्रमुख खत्री भन्छन्, ‘‘भन्सार खुलेलगत्तै गोदाममा रहेका सामग्री ल्याइनेछ ।’’ उनले नेपाली व्यवसायीको गर्मी सिजनका सामग्रीसमेत उतै थन्किएकाले सोमबारबाट ति सामान ल्याइने जानकारी दिए ।
बैठकमा चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र यताका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट चालक र मजदुर गरी २८ जनाको टोली पीसीआर गरेर तयारी अवस्थामा बसेको छ ।
सामान लोड गर्नका लागि चिनियाँ पक्षले थप अर्को २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाएको खत्रीको भनाइ छ । नाकामा खटिने चालक र मजदुरको ५-५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।
बैठकमा चीनको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । पछिल्लो समय पहिरोले क्षति गरेको सडक निर्माण सम्पन्न भएपछि ताल फुट्नसक्ने जोखिम कायमै रहेकाले नाका सञ्चालन नगरिएको हो ।
भूकम्पअघि यो नाकाबाट हरेक दिन सवा करोडको हाराहारीमा राजस्व संकलन हुने गर्दथ्यो । पछिल्लो आर्थिक वर्षमा भन्सारले १ अर्ब ५९ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । उता, रसुवागढी नाका एक साताअघि नै सञ्चालन भए पनि चार दिनअघि चिनियाँ भूभागमा आएको पहिरोका कारण सामान आयात भएको छैन ।
रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काकाले आफूहरू नाका छिटोभन्दा छिटो सञ्चालन गराउन चिनियाँ पक्षसंग छलफलमा रहेको बताए । रसुवागढीमा पनि अब चिनियाँ अधिकारीहरूसँग छलफल हुनेछ । कारोबार दैनिकबाट
सत्यपाटी ।