सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनापछि सीमा बन्दको प्रभाव, ‘सुनसान रुपैडिहा, चम्कियो नेपालगन्ज’

नेपाली उपभोक्ता सीमापारि जान छाडेपछि सुनसान बनेको रुपैडिया बजार ।

बाँके । कोरोनाका कारण बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा सुनसान भएको छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो । सात महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ ।

कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यतिमात्र होइन धेरैले घरमै तरकारी उतपादन गर्न थाले । नेपाली उपभोक्ताको भरमा सात महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो रुपैडियामा ।

तर कोरोनाका कारण जारी लकडाउन र सीमामा कडाइ गरिँदा वारिबाट नेपाली पारि जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् । रुपैडिया व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक चारदेखि पाँच करोडसम्मको व्यापार व्यवसाय हुँदै आएकोमा अहिले सुन्य प्रायः रहेको बताए ।

रुपैडिया व्यापार मण्डलका अध्यक्ष मित्तलले रुपैडियामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताए । उनले सीमा बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडासमेत तिर्न नसक्दा रुपैडियाका आधाजति व्यवसायी पसल खाली गरेर त्यहाँबाट नानपारा, बाबागन्ज र बहराइच गइसकेको बताए ।

विगतमा यतिबेला दशैंका लागि किनमेल गर्ने नेपाली उपभोक्ताले गर्दा रुपैडियामा अत्याधिक भीडभाड हुन्थ्यो तर अहिले सीमाना बन्द रहेका कारण बजार सुनसान रहेको र अधिकांश पसलहरु बन्द रहेको बताए । दैनिक सयौंको संख्यामा नेपाली उपभोक्ताहरु सामान खरिद गर्न आउने गरेकोेले एक मिनेट पनि फुर्सद हुदैनथ्यो ।

अहिले पसल खोलेर बस्दा दिनमा मुश्किलले २० जना स्थानीय उपभोक्ता पनि नआउने गरेको रुपैडियाका व्यवसायी ओमकार वैश्यले बताए । उनले व्यापार शून्य भएपछि रुपैडियाका अधिकांश व्यवसायीको करोडौं लगानी डुबेर व्यापारी पलायन हुन थालेपछि पटक पटक व्यापारीले सीमाना खोल्न माग गर्दै आएको पनि वैश्यको भनाई छ ।

चम्कियो नेपालगन्ज, बढ्यो आत्मनिर्भरता

सीमाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि सीमापारी किनमेल गर्न जानेहरु उता जान नपाउँदा नेपालगन्जको व्यापार चम्किएको अधिकांश स्थानीय व्यवसायीको भनाई छ । सीमापारीको व्यापार पूर्णरुपमा बन्द भएपछि अहिले नेपालगन्जमा स्थानीयको मागलाई पूरा गर्न नसकिएको व्यवसायीले बताएका छन् ।

नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले सीमापारीको किनमेल बन्द भएका कारण अहिले नेपालगन्जको व्यापार ह्वात्तै बढेको तथा आवश्यक सामाग्रीको माग पूरा गर्न नसकिएको बताए । उनले कोरोनाअघि ग्राहक कुरेर बस्नुपरेकोमा अहिले यहाँका व्यवसायी निकै ब्यस्त रहेको बताए ।

संघका उपाध्यक्ष प्रमोद अग्रवालले अब सधैंका लागि उताबाट व्यक्तिगत किनमेल गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघले पनि सीमापारीको किनमेल बन्द भएपछि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजारको व्यापार बढेको जनाएको छ ।

संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले नेपाली उपभोक्ताले सीमापारि गएर गर्दै आएको खरिदारी बन्द भएपछि नेपालगञ्जलगायत जिल्लाका सहरी क्षेत्रको व्यापार धेरै बढेको बताए । उनले अब सधैंका लागि यही व्यवस्था गर्नुपर्ने तथा सीमापारीबाट किनमेल गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम बनाउनुपर्ने माग गरे ।

सीमा नाका बन्द भएका कारण अधिकांश नेपालीहरुले घरघरमा तरकारी उत्पादन थालेको र स्वदेशमै बनेका वस्तुहरुको प्रयोगमा पनि बृद्धि भएकोले आत्मनिर्भरता बढेको संघले जनाएको छ । कोरोना महामारीको नेपाली उपभोक्तालाई फाइदा भएको छ । यसले नेपालीलाई आत्मनिर्भर र स्वदेशी उत्पादन चिन्ने अवसर दिएको छ ।

रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्य प्रायः छ । आपतकालीन अवस्थाका बिरामीको ओखती खरिदका लागि मात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिने गरिएको छ । नून, तेलसमेत किन्न भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ता नेपालगन्जमै रोकिएका छन् ।

कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न पनि सिकाएको छ । कोरोना महामारीले सामान्य अवस्थामा बाँकेका हजारौँ उपभोक्ताले दिनहुँ रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान खरिद गर्न जाने अवस्थाको अन्त्य गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष पूर्वअध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।

उनी भन्छन्, ‘बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगन्जका बजारमा अझ सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ । कोरोना महामारीले नेपालगन्जका व्यवसायीलाई पनि उपभोक्तासँग कस्तो व्यवहार गर्ने भन्ने पनि सिकाएकोa छ ।’

सङ्घको पछिल्लो तथ्याङ्कअनुसार, कोरोना महामारीपछिको भारतीय सीमानाका बन्द हुँदा रुपैडिहा बजारमा दैनिक व्यय हुने करीब रु पाँच करोड रकम स्वदेशमै खर्च भएको छ । चर्को घाम तथा समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भारतीय कस्टम र एसएसबीको हेपाइ सहनुपर्ने नियतिको पनि अन्त्य भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १५:४५