सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन

छिट्टै सञ्चालनमा आउँदै ‘वाटरपार्क’

बाँके । नेपालगन्ज–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौका विहारका लागि प्रयोगमा ल्याइएको छ ।

‘नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केही दिनभित्र सञ्चालनमा आउनेछ,’ उनले भने । तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन् ।

यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ । नेपालगन्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो ।

२०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । जग्गा अधिग्रहण गरिएकालाई अहिले अस्थायी जग्गाधनी पूर्जा वितरण भइरहेको छ ।

‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको दुई वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने हाम्रो लक्ष्य छ’, नेपालगन्ज नगर विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख डा धवलशम्शेर राणाले भने । पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।

निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगन्जको पहिचानलाई थप उचाइमा पुर्याउन यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणसमेत एकमत छन् । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १५:१४