सूचनाको शक्ति - The Power Of Information

        

विकास

अत्याधुनिक प्रशासकीय भवन बनाउँदै नरैनापुर

नरैनापुर गाउँपालिकाले निर्माण गर्ने प्रशासकीय भवन लगायत अन्य भौतिक संरचनाहरुको डिजाइन ।

बाँके । गाउँपालिका कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला नरैनापुर गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ । साविकका गाविस भवन, वडाका पुराना कार्यालय र भाडाका घरबाट सेवा दिन बाध्य भएका बेला नरैनापुरले आफ्नै प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

गाउँपालिकाले ‘द्वार एक, सेवा अनेक’ हुने गरी भूकम्प प्रतिरोधी प्रशासकीय भवन बनाउने तयारी थालेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिएका छन् । अध्यक्ष शाहका अनुसार प्रशासकीय भवन निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गर्ने कार्य भइरहेको छ ।

विभिन्न स्थानीय तहहरुमा जनप्रतिनिधि निर्वाचित भएसँगै उनीहरुको पहिलो प्राथमिकतामा सवारी साधन खरीद परेकाले गाउँ, नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप लागिरहेका बेला नरैनापुर गाउँपालिकाले भने प्रशासकीय भवन निर्माणको कामलाई प्राथमिकता दिएको छ ।

‘हाम्रो पनि पहिलो प्राथमिकता प्रशासकीय भवन नै थियो,’ अध्यक्ष शाहले भने, ‘विभिन्न कारणले डिपिआर निर्माणको काममा केही ढिलाई भए पनि अब त्यो काम अघि बढिसकेको छ ।’ भवन साँघुरो हुँदा सेवा प्रवाहमा जटिलता हुँदै आएकोले भवन निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

कार्यालयको आफ्नै प्रशासकीय भवन निर्माणको काम तीव्र गतिमा अघि बढाउने बताउँदै गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भने, ‘डिपिआर निर्माणको काम सुरु भएको छ । डिपिआर सकिएँगै तत्काल ठेक्का आह्वान गरी भवन निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौं ।’

कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार सेवा प्रवाहमा कठिनाई हुने गरेको बताउँदै प्रमूख प्रशासकीय अधिकृत शाहीले भने, ‘भवन तथा पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो भइरहेका बेला आफ्नै प्रशासकीय भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता हुनेछ ।’

स्थानीयवासीले उपलब्ध गराएको एक बिघा १८ कठ्ठा (झण्डै २५ रोपनी) जग्गामा निर्माण हुने प्रशासकीय भवन अत्याधुनिक र सुविधायुक्त हुनेछ । जस अन्तरगत मुख्य प्रशासकीय भवन चार तलाको हुनेछ भने सभाहल, कर्मचारी आवास गृह, पाहुना घर र खाजाघरसमेत रहने गरी अन्य भवनहरु निर्माण हुनेछन् ।

प्रशासकीय भवनको मुख्य प्रवेशद्वारसँगै एउटै प्राङ्गणभित्र, प्रतिक्षालय, बगैंचा, बगैंचा, सुरक्षा गार्ड भवन, पार्किङ्ग क्षेत्र लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् । प्रशासकीय भवन निर्माणपछि गाउँपालिकाको कामकाजमा निकै सहजता आउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्नेछ ।

भवन निर्माणका लागि गाउँपालिकाले जिल्ला समन्वय समिति बाँकेमार्फत रु.चार करोड रकम पाउने भएको छ भने जसमध्ये पहिलो चरणमा रु.दुई करोड ७० लाख निकासा भइसकेको पनि गाउँपालिकाले जनाएको छ । त्यसबाहेक भवन निर्माणका लागि प्रदेश तथा संघमा पनि रकम माग गरिएको अध्यक्ष शाहले जानकारी दिए ।

‘गाउँपालिकाको प्रशासकीय भवन निर्माण ठुुलो परियोजना भएकोले डिपिआर निर्माण कम्पनीलाई छिटोभन्दा छिटो डिपिआर निर्माणको काम सक्न भनिएको छ,’ अध्यक्ष शाहले भने । डिपिआर सकिएलगत्तै टेण्डर आह्वान गरेर भवन निर्माणको कामलाई गुणस्तरीयरुपमा अघि बढाउने अध्यक्ष शाहले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ११:०४