सूचनाको शक्ति - The Power Of Information

        

पुर्नकर्जाको आवेदनमा अपेक्षा अनुसार माग नभएपछि दुई साता म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जाको आवेदन संकलनको म्याद दुई साताका लागि थप गरेको छ ।

यसअघि तोकिएको समयभित्र अपेक्षित रूपमा आवेदन नआएपछि राष्ट्र बैंकले सूचना जारी गरेर पुनर्कर्जाको आवेदन संकलनको म्याद थपेको हो । अब बैंक तथा वित्तीय संस्थाले असोज मसान्तसम्म पुनर्कर्जाका लागि आवेदन संकलन गर्न पाउनेछन् ।

यसअघि बैंक तथा वित्तीय संस्थालाई भदौ १ देखि असोज १४ सम्म आवेदन संकलन गर्न समय दिइएको थियो । कोरोनाको जोखिमबाट बच्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण आवेदन दिन नपाएको गुनासो आएपछि समय बढाइएको राष्ट्र बैंकले जनाएको छ मापदण्ड पुगेका ऋणी सुविधाबाट नछुटुन् भनेर पनि आवेदन संकलनको म्याद थपिएको राष्ट्र बैंकले जनाएको छ ।

यता बैंक तथा वित्तीय संस्थाहरुले भने सहुलीयत दरमा ऋण नपाउने भएपछि पुनर्कर्जामा चासो नदेखाएको बताइएको छ । यसैबीच राष्ट्र बैंकले वित्तीय क्षेत्रका ग्राहकको संरक्षण तथा गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने भएको छ ।

यसका लागि वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि ०७७ जारी गरिएको छ । राष्ट्र बैंकले यसअघि नै गुनासो सुनुवाइ गर्दै आएको छ । अहिले कार्यविधि बनाएर थप प्रभावकारी बनाउन लागिएको हो ।

गुनासो व्यवस्थापनका लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा एक समिति गठन हुने व्यवस्था कार्यविधिमा छ । जसमा अर्का डेपुटी गभर्नर, नियमन, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक अर्थ मन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्षलगायत सदस्य रहनेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १०:३७