सूचनाको शक्ति - The Power Of Information

        

मौसम

लम्बिँदै रात, छोटिँदै दिन, बढ्दैछ चिसो

बाँके । औपचारिक रूपमा वर्षा याम (मनसुन) बिदा हुन बाँकी रहे पनि मुलुकमा हिउँद (जाडो) यामका लक्षण सुरु भइसकेका छन् । सामान्यतया नेपालबाट मनसुन बाहिरिनुपर्ने मिति यही सेप्टेम्बर २७ हो । तर भनेकै दिन यो बाहिरिँदैन । दुई चार दिन तलमाथि पर्छ । अझ केही वर्षयता मनसुन अलि लामो समयसम्म रहने गरेको छ ।

यसपालि पनि मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । तर वर्षा हुने क्रम ह्वात्तै घटेको छ भने देशका धेरैजसो स्थानमा बिहानैदेखि घाम देखिन थालेको छ । आज (मंगलबार) पनि देशका थोरै स्थानमा हल्का वर्षाबाहेक खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हिउँद सुरु हुन लागेसँगै दिनप्रतिदिन चिसो बढ्दै गएको छ भने दिन छोटिन र रात लम्बिन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार सबैभन्दा लामो दिन मानिने जुन २१ लाई आधार मान्दा दिन एक घण्टा घटिसकेको छ । त्यसताका सामान्यतया (ठ्याक्कै होइन) बिहान ६ बजे सूर्य उदाउने र साँझ ७ बजेतिर अस्ताउने हुन्थ्यो भने अहिले औसतमा ६ बजे घाम झुल्किने र ६ बजेतिरै डुब्ने भइरहेको छ ।

‘यो ठ्क्याक्कै तथ्यांक हेरिएर भनिएको होइन, २–४ मिनेट तलमाथि होला,’ मौसमविद् अर्यालले भने, ‘आजको हेर्नुहुन्छ भने बिहान ५ बजेर ५६ मिनेटमा सूर्य उदाएको छ, साँझ ५ बजेर ५३ मिनेटमा अस्ताउने देखिएको छ ।’ यस आधारमा लगभग एक घण्टा दिन छोटो भइसकेको उनले बताए । दैनिक औसतमा ४५ सेकेन्डदेखि १ मिनेटसम्म दिनको समय क्रमशः घट्दै गएको उनले जानकारी दिए ।

‘यसरी क्रमशः दिनको समय घट्दै डिसेम्बर २२ मा सबैभन्दा छोटो दिन हुन्छ,’ मौसमविद् अर्यालले भने, ‘त्यस दिन बिहान ६ बजेर ५६ मिनेटतिर सूर्य उदाउँछ भने ५ बजेर ९ मिनेट जस्तोमा घाम डुब्छ ।’ यसरी दिन छोटिने उच्चतम बिन्दुमा पुगेपछि भने पुनः दिन बढ्ने र रात छोटिने क्रम सुरु हुने उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०९:०९