सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिकाको एम्वुलेन्स तोडफोड गर्ने पक्राउ

बझाङ । बझाङको मष्टा गाउँपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा गाउँपालिका–५ किनाडाकी ५३ बर्षिया झिगीदेवी कठायतको दमले मुटुमा असर पारेकोले वेलुका ४ बजेतिर नेपालगन्जतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भयो ।

एम्बुलेन्स चालक नवराज खड्काले एम्वुलेन्समा लास राखेर बीचबाटोे बाटै फर्केर सुनिकोट भन्ने ठाउँमा स्थानीयहरुले आक्रोसमा आएर राति १२ बजे लास पुर्याउन जाने क्रममा एम्वुलेन्समा तोडफोड गर्नुका साथै आफुलाई ज्यान मार्ने धम्कीसहित दुर्व्यवहार गरेको बताए ।

उक्त एम्वुलेन्स तोडफोड गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक यातायात तोडफोड तथा दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ । मष्टा गाउँपालिका–६ घर भएका चक्र बोहोरालाई सोमबार चैनपुर बजारबाट प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न रहेका अन्यको खोजी कार्य भैरहेको समेत जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए । मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले विरामीका आफन्तले एम्बुलेन्स पठाउन भनेपछि एम्बुलेन्स पठाएको बताए ।

अध्यक्ष कठायतले भने, ‘शव घरसम्म पुर्याउने क्रममा एम्बुलेन्समा क्षति हुने गरि तोडफोड गरेको र एम्वुलेन्सले नै बिरामीलाई मारेकोजस्ता अभिव्यक्ति दिएर चालकलाई ज्यान मार्ने धम्की र दुर्व्यवहार गर्नु अपराध हो, दोषीमाथि कारबाही हुनुपर्छ ।’

मष्टा गाउँपालिका उपाध्यक्ष भगवती बोहोराले एम्बुलेन्सजस्तो अत्यावश्यक र मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील साधनलाई तोडफोड गर्नु अमानवीय, गैरकानुनी र अपराधिक कार्य भएकोले तोडफोडमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०८:४५