सूचनाको शक्ति - The Power Of Information

        

बोक्साबोक्सी भन्दै सामाजिक बहिष्कार गर्नेलाई जेल

काठमाडौँ । बोक्साबोक्सी भन्दै सामाजिक बहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो ।

सामाजिक बहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ ।

उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक बहिस्कार गरेको थियो ।

स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक बहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०७:४९