सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरीमै थप बेडसहितको आइसोलेसन, बाँकेमा एक हजार ८२१ जनामा कोरोना पोजेटिभ

आइसोलेसन व्यवस्थापन तथा सञ्चालनका लागि छलफल गरिँदै । फाइल तस्वीर

बाँके । बढ्दो कोरोना (कोभिड–१९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइसोलेसन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूह बाँकेको संयोजनमा कोरोनाको बढ्दो संक्रमण, सहज र प्रभावकारी उपचार तथा आइसोलेसनको आवश्यकताका सन्दर्भमा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरसम्वादमा सरोकारवालाले सामुहिक प्रतिवद्धता गरेका हुन् ।

भेरी अस्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि थप आइसोलेसनसहितको सेवा अनिवार्य देखिएको हो । भेन्टीलेटरसहितको सुविधायुक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको माग बढदै गइरहेका बेला सार्वजनिक सरोकारका सावालमा क्रियाशिल समूहले सरोकारवालावीच थप समन्वय र सहकार्यका लागि सम्वाद सहजीकरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको विशेष उपस्थितिमा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाबीच कोरोना संक्रमीतको प्रभावकारी उपचारका लागि गर्न सकिने पहलबारे अन्तरसम्वाद गरिएको थियो । कार्यक्रममा सहभागी सम्वद्ध विज्ञले बाँकेमा दैनिक ३० जनामा (औसतमा) कोरोना पोजीटीभ देखिइरहेको स्थितिमा अब थप संक्रमीतलाई राख्न सक्ने अवस्था नभएको भन्दै तत्काल भेरी अस्पतालमै थप बेड व्यवस्थापन नै सर्वोत्तम विकल्प भएको औल्याए ।

भेरी अस्पताल कोरोना विशेष अस्पतालका कोभिड कमाण्डर डा.श्यामसुन्दर यादवले भेरी अस्पतालभित्रै थप आइसोलेसन सञ्चालन गर्नु नै उत्तम हुने दाबी गर्दै थप बेड राख्न सकिने ठाउँ रहेको बताए । उनले त्यसको व्यवस्थापनका लागि सामुहिक इच्छाशक्तिको आवश्यकता पनि औल्याए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालभित्रै थप डेढ सय बेड राख्न सकिने स्थानहरुको व्यवस्थापनका लागि सहयोगको अपील गरे ।

प्रजिअ एवं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्रमुख कुरुम्वाङले भेरी अस्पतालमै आइसोलेसन व्यवस्थापन र सञ्चालनको लागि हरसम्भव प्रयास गरिएको भन्दै सबै पक्षको सहयोगको खाँचो रहेको बताए । नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले आइसोलेसनको आवश्यक्तालाई मध्यनजर गरेर नीजि अष्पताल र होटेललाई पनि उपयोग गर्न सकिन्छ की भन्ने आशय व्यक्त गरिन् ।

भेरी अष्पतालको निर्माणाधिन पाँच तले भवनमै आइशोलशन सञ्चालन गर्ने की भन्ने वहस भइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जिनियर होमनाथ भुषालले भवन निर्माणको कार्य जारी रहेकाले प्राविधिकीय मापदण्डमा अवरोध हुने भएकाले तत्काल नयाँ भवनमा भने सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारे । भेरी अस्पतालका निमित्त मेसु डा.सुमन अर्यालले कोरोना उपचार गरिँदा अन्य सेवा प्रभावित नहोस् भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ स्वास्थ्य प्रशासक धिरजंग शाहले कोरोनाबाट संक्रमीत हुनै नदिने तर्फ सचेतना बढाउनुपर्ने सुझाव दिए । खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले स्थानीय तहमा पनि कोरोनो विशेष अष्पतालको आवश्यक्ता औल्याइन् । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा.नितेश कनोडियाले सिमित स्रोत साधनका वावजुद कोरोना संक्रमितको उपचार गरिँदै आएको र थप आवश्यक सहकार्यका लागि पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी प्रमुख ओम राना, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली लगायतले आइसोलसन सञ्चालनका लागि सबैको सामुहिक सहकार्यमा जोड दिए । सम्वाद समूह बाँकेका सहजकर्ता शुक्तऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्देश्यमाथि समूहका सदस्य अधिवक्ता प्रहलादबहादुर कार्कीले प्रकाश पारेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा हालसम्म २५ हजार ५०६ जनाले कोरोना परिक्षण गराएकोमा एक हजार ८२१ जनामा पोजेटिभ देखिएको छ भने एक जार चार सय ३४ जना डिसर्ज भएका छन् । बाँकेमा १९ जनाको मृत्यू भएकोमा १३ जना बाँकेका र ६ जना बाहिरी जिल्लाका रहेका छन् । यस्तै २१ जना होम आइआशोलेशन र ५० जना हाटेलमा रहेका छन् ।

यसैबीच समूहको सहजीकरण लगत्तै प्रजिअ कुरुम्वाङ नेतृत्वको टोलीले अस्पतालमा थप बेडसहितको आइसोलेसनको सम्भाव्यताबारे अवलोकनसमेत गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष धिताल, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जिनियर विजय केशर खनाल लगायत रहरेका थिए । हालै मन्त्रीपरिषद् बैठकले जिल्ला समन्वय समिति बाँकेमा रहेको चार करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार ०९:२३