सूचनाको शक्ति - The Power Of Information

        

टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक

काठमाडौं । अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो ।

यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालिक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाउने आदेश जारी गरे ।

न्यायाधीशले आदेश जारी गर्नुको कुनै कारण बताएनन् तर यसबारे पछि निर्णय दिने जानकारी दिए । सुनुवाईको क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धलाई अतार्किक बताउँदै भने, ‘आज रातीदेखि यो प्रतिबन्ध लागू गर्नुको अर्थ के हो जबकि यसमाथि अहिले पनि छलफल जारी छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्छ ।

टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा लञ्च गरेको थियो । संसारभरी टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार ०९:०१